‘महँगो हवाई शुल्कले घटे पर्यटक’ ६ महीनामा आए झन्डै ६ लाख विदेशी पर्यटक

काठमाडौं । सन् २०२४ को पहिलो ६ महीनामा नेपालमा आउने विदेशी पर्यटकको संख्या झन्डै ६ लाख पुगेको छ । नेपाल पर्यटन बोर्डले सोमवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल आउने पर्यटकको संख्या ५ लाख ८३ हजार १६ पुगेको हो ।

पर्यटक आगमन विगत वर्षमा भन्दा सन् २०२४ मा सुधारोन्मुख भए पनि जुन महीनामा भने अघिल्लो महीनाको तुलनामा घटेको बोर्डले जनाएको छ ।

पर्वतारोहण, ट्रेकिङको सिजनका महीना मानिने मार्च र अप्रिलमा पर्यटक मासिक १ लाखभन्दा बढी आए पनि मे महीनादेखि घटेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जुनमा नेपालमा ७६ हजार ७३६ पर्यटक आएका छन् । मेमा यो संख्या ९० हजार २११ थियो ।

बर्खायाम शुरू भएसँगै पर्यटक आगमनमा कमी आउने भए पनि बर्खा नलाग्दैको महीना (जुन)मा पर्यटक घट्नुमा नेपालकै कमजोरी रहेको पर्यटन व्यवसायी तर्क गर्छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष सीएन पाण्डेले हवाई शुल्क महँगो हुँदा पर्यटकको आगमन बढ्न नसकेको बताए । टिकट समयमै नपाउने र पाए पनि महँगो हुँदा पर्यटकले अन्यत्रका गन्तव्य रोजेको उनको बुझाइ छ ।


‘कनेक्टिभिटी पनि अप्ठ्यारो भएकाले नेपालमा आउनुभन्दा अरू देशमा जान सस्तो पर्‍यो,’ पाण्डेले भने, ‘नेपालका प्रमुख पर्यटन गन्तव्य पोखरा, चितवन र भैरहवातर्फ जाने सडक सहज नभएकाले पनि घुम्न जान अफ्ठयारो भयो ।’

जुनमा पर्यटक घट्नुको कारण १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट), हवाई इन्धनको भाउ बढी रहेको, विमानस्थलको पार्किङ शुल्कलगायत कारण हवाई भाडा महँगो परेको उनको भनाइ छ । यी शुल्क नघट्दासम्म पर्यटकको आगमनमा उल्लेख्य सुधार नहुने उनले बताए ।

सरकारले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक ल्याउने बजेट वक्तव्यमा घोषणा गरेको छ । अर्काेतिर, १२ महीना नै पर्यटकीय सिजन बनाउने घोषणा पनि गरिएको छ । तर, अब बर्खायामको सिजनमा पर्यटक आगमन घट्ने गरेको छ । नेपालमा पर्यटकीय सिजन सेप्टेम्बरदेखि नोभेम्बरसम्मलाई मानिन्छ । त्यो बेला पर्यटकको आगमन अन्य महीनामा भन्दा धेरै हुने गरेको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले सरकारले लिएको १६ लाख पुर्‍याउने लक्ष्य पूरा गर्न यो संख्या बढाउनैपर्ने बताए । यसका लागि भारतमा बोर्डले ‘गर्मी सिजन चलो नेपाल’ अभियान नै चलाइएको उनको भनाइ छ । १२ महीना नै पर्यटकीय सिजन बनाउन यो सिजनमा मनाङ, मुस्ताङ जस्ता हिमाली भेगतिरका प्याकेज बनाएर प्रचारप्रसार गर्ने उनको भनाइ छ । यद्यपि बोर्ड प्रमुख कार्यकारी अधिकृतविहीन भएकाले प्रचारप्रसार तथा प्रवर्द्धनको काम हुन नसकेको लामिछानेले बताए ।

बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको प्रमुख पर्यटकीय स्रोत देश भारत र चीनबाट आउने पर्यटकको संख्यामा समेत कमी आएको छ । गर्मीयाममा भारतीय पर्यटक आगमन बढ्ने भनिए पनि जुनमा त्यस्तो संख्या ३७ हजार ८३५ छ । मे महीनामा भारतीय पर्यटकको संख्या ३८ हजार २८८ थियो । यस्तै, चीनबाट आउने पर्यटक पनि केही घटेका छन् । मेमा ८ हजार ३८१ चिनियाँ पर्यटक आएकोमा जुनमा यो संख्या ७ हजार ४९४ रहेको छ ।  आर्थिक अभियान

Translate »