प्रधानमन्त्री रोजगार कार्यक्रम : मुसिकोटका तीन हजार युवा लाभान्वित

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच वर्षको अवधिमा तीन हजार बढी व्यक्ति लाभान्वित भएका छन् ।
आर्थिक वर्ष २०७५/७६ देखि कार्यक्रम लागू भएदेखि हालसम्म तीन हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेका नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तवले बताइन् । उनका अनुसार यस अवधिमा उक्त कार्यक्रमबाट छ करोड ३४ लाख ७१ हजार चार सय रूपैयाँ खर्च भएको छ ।

आव २०७५/७६ मा स्वीकृत ४३ लाख बजेटबाट चार सय ४१ जनाले औसतमा ३० दिन रोजगार पाएका थिए। यस्तै आव २०७६/७७ मा ७१ लाख ८० हजार रूपैयाँ बजेटबाट चार सय ५० जनाले २८ दिन, आव २०७७/७८ मा दुई करोड ४६ लाख ६१ हजार रूपैयाँ बजेटबाट सात सय ७२ व्यक्तिले ५७ दिन, आव २०७८/७९ मा दुई करोड ५८ लाख १४ हजार रूपैयाँ स्वीस्कृत बजेटबाट आठ सय ८९ व्यक्तिले ७४ दिन रोजगार प्राप्त गरेका रोजगार संयोजक श्रीवास्तबले बताइन् ।
आव २०७९/८० मा एक करोड ८९ लाख २४ हजार रूपैयाँ बजेटमा तीन सय ६७ व्यक्तिले ७९ दिन र चालु आव २०८०/८१ मा रु ५८ लाख २५ हजार बजेटबाट ९२ व्यक्तिले ९० दिन रोजगार प्राप्त गरेको उनले बताइन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गोरेटो बाटो, खेलकुद मैदान निर्माण, घेराबार लगायतका काम भएका छन्। कार्यक्रमबाट स्थानीयवासीलाई आर्थिक रुपमा सहज भएको नगरपालिकाले जनाएको छ ।