युद्धस्तरमा खेल संरचना बनाऊँ !
१० औं राष्ट्रिय खेलकुदको तयारी तिब्र, कर्णालीमा विकास गर्ने होइन, खाने हो भन्ने भाष्यबाट माथि उठ्नु पर्ने नेताहरु नै बताउँछन् । तर, केही त्यस्ता पूर्वाधारका कामहरु छन जस्ले कर्णालीमा नयाँ मूल्य मान्यता स्थापित गर्न सक्छन् । जुन तोकिएकै समयमा निर्माण सम्पन्न गर्न अब आयोजना पक्षले मात्र होइन, राजनीतिक दलसँगै तीनै तहका जनप्रतिनिधिहरुको खबरदारी आवश्यक भईसक्यो । कर्णालीमा आगामी मंसिरमा आयोजना हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको भनिएपनि तोकिएको समयमा खेल संरचना पुरा नहुँदा त्यसबाट थुप्रै नकरात्मक समस्याहरु उत्पन्न हुन सक्छन् । प्रतियोगिताको तयारी स्वरुप विभिन्न खेल गतिविधि सञ्चालन हुनुका साथै खेलकुद भौतिक संरचना बनाउने कार्यलाई सकारात्मक ऊर्जाका साथ जुटौं । खेल संरचनाका कामहरु जुन गति र रफ्तारमा हुनुपर्छ त्यसअनुरुप अहिले हुन सकिरहेका छैनन् ।
त्यसैले अहिले धेरैलाई चिन्ता र चाँसो बढेको हो । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सञ्चालन हुने विभिन्न खेलकुद प्रतियोगिता मध्ये २४ वटा खेलहरु कर्णालीमै सञ्चालन हुने छन् । मंसिर २ गते उद्घाटन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने स्थल प्रदेश गौरवको आयोजना ‘सुर्खेत रङ्गशाला’ निमार्णको कामलाई अहिलेदेखि नै रातदिन नभनि जुट्न जरुरी देखिन्छ । तयारीस्वरुप खेलकुद पोषाक र खेलकुद गीत निर्माणदेखि खेल प्रशिक्षणका अभ्यासहरु तीव्र पारेपनि तोकिएको समयमा रङ्गशाला निर्माण हुन नसकेमा त्यसबाट थुप्रैखाले समस्याहरुको साम्ना गर्नुपर्ने हुन्छ । सुर्खेत बाहिर प्रदेशका अन्य जिल्लाहरुमा पनि खेल संरचना निर्माणमा अहिलेदेखि नै तातिन जरुरी भईसक्यो । सुर्खेत रङ्गशाला निमार्णको काम ६० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको दावी गरिएपनि अझैपनि थुप्रै कामहरु गर्न बाँकी नै छन् । बाँकी कामलाई तोकिएको समयावधि अगाबै सकाउन सबैपक्ष जुट्न आवश्यक भईसक्यो । त्यसमा पनि प्रदेश सरकारको भूमिका महत्वपूर्ण अझ हुने भएकाले अब बाँकी रहेका खेल संरचनाका कामहरुलाई युद्धस्तरमा सकाउन तर्फ केन्द्रित हुनु पर्छ । अबको दुई महिनाभित्र सम्पन्न गर्ने गरी पूर्वाधार निर्माणको कामलाई अन्तिम गति दिन आवश्यक भईसक्यो । उसो त ! ३० महिनाभित्र अर्थात् २०८१ जेठ ११ गतेभित्र रंगशाला निर्माण सम्पन्न गर्ने समयसीमा थियो ।
‘सुर्खेत रंगशाला’ कर्णाली प्रदेश सरकार स्थापना भएदेखि अहिलेसम्मको एकमात्र गौरवको आयोजना समेत भएकाले सम्बन्धित सरोकारवालासँगै खेल पदाधिकारीहरु पनि तातिन जरुरी देखिन्छ । १० हजार दर्शक अट्ने क्षमताको सुर्खेत रङ्गशालाभित्र १६ वटा खेल खेल्न सकिने गरी संरचना तयार भईरहेकाले रफ्तारमा काम गरेर सबैलाई ‘बा’ कर्णाली ! भन्ने बनाउन सबैको साथ सहयोग अपरिहार्य हुन्छ । अहिले पनि छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउने लगायतका काम पनि बाँकी छन् भने झ्याल ढोका, बाथरुम फिटिङ गर्नुपर्ने काम पूरा हुन सकेका छैनन् । वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माण लगायतका कामहरु बाँकी नै छन् । झण्डै पौने दुई अर्बको सुर्खेत रङ्गशाला निर्माणको काम एमएसी–जीएसएल जेभी काठमाडौंले आफैले गरेको सम्झौता अनुरुपको तोकिएको समयभित्र काम गर्न सकेको छैन् । विभिन्न बहाना बनाएर देश बन्दैन् । त्यसका लागि दृढशक्तिको आवश्यकता हुन्छ । समयमै खेल संरचनाका कामहरु सम्पन्न गरी मङ्सिरमा हुने १० औं राष्ट्रिय खेलकुद आयोजनामा कुनै असर नपर्ने गरी अघि बढौं । दशौं राष्ट्रिय खेलकुदलाई ऐतिहासिक बनाऔं । हर असम्भवलाई सम्भव बनाएर ईतिहास कोरौं ।