२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

डोल्पाको शेल सुम्दो गुम्बामा भदौमा १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेला आयोजना हुने, तयारी अन्तिम चरणमा



काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–३ स्थित शेल सुम्दो गुम्बामा आयोजना गरिने १२ वर्षे शेल रिवो डुग्ड्रा (शे) मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

मेलाका बारेमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले यसबारे जानकारी दिएका हुन् ।

शे फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका तथा छार्काताङसोङ गाउँपालिकाको आयोजनामा आगामी भदौ १६ गतेदेखि २१ गतेसम्म ६ दिन मेला गरिन लागिएको हो । उक्त मेलामा धार्मिक प्रवचनदेखि सांस्कृतिक कार्यक्रम, घोडा दौडसँगै उपल्लो डोल्पाको जनजीवन झल्कने विभिन्न गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।

मेलाको अवसरमा तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्यमा निःशुल्क आँखा उपचार तथा शल्यक्रियादेखि स्वास्थ्योपचार लगायतका शिविरसमेत राखिने अध्यक्ष गुरुङले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुरुङले विकास र सहजताका हिसाबले डोल्पा पछाडि रहे पनि पर्यटनको सम्भावनाका आधारमा नेपालकै महत्त्वपूर्ण गन्तव्य भएको बताए ।

उनले भने, ‘साहसिक पर्यटनको लागि डोल्पा हिडनल्याण्ड हो । अध्यक्ष गुरुङले शेल रिवो डुग्ड्रा मेलाले डोल्पाको बहुसांस्कृतिक पक्षलाई थप उजागर गर्ने विश्वास लिए ।

खस तथा मस्टो संस्कृति, तरालि संस्कृति, डोल्पो संस्कृति, बोन तथा बुद्ध धर्म, खस भाषा, काइके भाषा, तिछुरोङ पोइके, डोल्पो भाषालगायत त्रिपुरासुन्दरी मन्दिर, व्यास तपोभूमि आदिबाट अलौकिक अनुभुति लिन सकिने आयोजकले बताएका छन् ।

ऐतिहासिक शेल रिवो डुग्ड्रा शे मेलाको अवसरमा करीब १५ हजारभन्दा बढी मानिसको उपस्थिति हुने अपेक्षा आयोजकले गरेका छन् । मेलाको लागि आवश्यक पर्ने खानेपानी, अस्थायी आवास, शौचालय तथा अन्य संरचनाहरूको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रचार प्रसार समितिका संयोजक तथा शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले मेलाले डोल्पाको मात्रै नभएर सिङ्गो नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान मिल्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि सङ्घीय सांसदकी उपसभामुख इन्दिरा गुरुङले डोल्पा प्राकृतिक रूपमा निकै सुन्दर रहेको बताउँदै यस्ता धार्मिक मेला र पर्वले त्यहाँको धर्म, संस्कृति र जनजीवनका बारेमा बुझ्न थप सहज हुने बताइन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिम्मत सिंह ऐरले पर्यटन विकासका हिसावले निकै महत्त्वपूर्ण मानिएको डोल्पामा हुन गइरहेको यो मेला धार्मिक महत्त्वका हिसावले मात्रै नभएर सांस्कृतिक हिसावले पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार
Translate »