गाँजाखेतीलाई वैधानिकता
काठमाडौं । सरकारले गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने भन्ने केही युवाले शनिवार काठमाडौंमा प्रदर्शन गरेका छन् । गाँजाखेती खुलाउनु भनेको युवाहरूलाई गाँजा खाऊ भनेको होइन, यसबाट आर्थिक लाभ लिनुपर्छ भन्ने ती युवाको भनाइ छ । सरकार आफैले आवश्यक कानूनी व्यवस्था मिलाएर गाँजाखेती खुलाउने भनी घोषण गरे पनि त्यसतर्फ काम अघि बढेको छैन । संसदीय समितिले ऐन बनाउने भने पनि सरकारले यसको मस्यौदा बनाउने प्रक्रिया अगाडि बढाएको देखिँदैन । यद्यपि संसद्मा गैरसरकारी विधेयकका रूपमा एउटा विधेयक दर्ता भएको छ जसलाई अघि बढाइएको छैन ।
नेपालमा अहिले गाँजाखेती खुलाउनु पर्नेमा व्यापक बहस भइरहेको छ । खासमा अमेरिकी स्वार्थमा नेपालमा यसमाथि प्रतिबन्ध लगाइएको र त्यसले नेपालको अर्थतन्त्रलाई गम्भीर क्षति पुर्याएको विश्लेषण छ । गाँजा वा भाँगोबाट कपडाहरू बन्ने भएकाले त्यसले अर्थतन्त्रमा बलियो टेवा दिएको थियो । त्यस्तै गाँजाबाट विभिन्न आयुर्वेदिक औषधिसमेत बन्थ्यो । नेपालको गाँजा गुणस्तरीय भएकाले बढी मूल्यमा विक्री हुन्थ्यो । तर, गाँजामाथि प्रतिबन्ध लागेपछि यो आर्थिक पक्ष पूरै ठप्प छ ।
नेपालमा गाँजा नरोपे पनि स्वत: उम्रने गर्छ । नेपालका माटामा सबैतिर राम्रो गाँजाखेती गर्न सकिन्छ । तराईका कतिपय ठाउँमा यसको व्यावसायिक खेती हुन्थ्यो । अहिले पनि लुकिछिपी खेती गरिन्छ र प्रहरीले थाहा पाए सबै नष्ट गरिदिन्छ । गाँजा भनेको लागू पदार्थ हो भन्ने हिसाबले यसमाथि कडा प्रतिबन्ध लगाइए पनि यसको औषधीय प्रयोग बढ्दो छ । यसको तेल निकै महँगोमा विक्री हुन्छ । अमेरिकाकै धेरै प्रान्तमा अहिले गाँजा सेवन गर्ने ठाउँसमेत खुल्न थालेको छ । हामीले औद्योगिक र औषधीय प्रयोजनका लागि अनुमतिपत्र प्रदान गरेर यसको खेती गर्नेगरी वैधानिक बाटो खुलाउन हिचकिचाउनुपर्ने देखिँदैन ।
गाँजाको पात, फल, रेसा सबैबाट आर्थिक लाभ लिन सकिन्छ । नेपालबाट अहिले पनि हेम्पका सामान निर्यात हुन्छ । नेपालभित्रै पनि यसको व्यापार राम्रो छ । हेम्पका सामान बनाउने दर्जनौं कम्पनी यहाँ सञ्चालनमा छन् । तर, यसको खेती अवैधानिक हुँदा कच्चा पदार्थ पाउन गाह्रो भइरहेको छ । यस्ता उद्योगीमध्ये धेरैले हेम्प चीनबाट आयात गर्ने गरेको पाइन्छ । गाँजाबाट बनेको कपडाको मूल्य महँगो हुन्छ । अहिले प्राकृतिक रेसाबाट तयार पारिएका यस्ता वस्तुको माग निकै बढेको छ ।
अहिले कपडामात्र होइन, यसको रेशाबाट विभिन्न वस्तु बनाउन थालिएको छ । त्यस्ता वस्तु टिकाउ हुनाका साथै जैविक भएकाले त्यसको विसर्जनमा पनि कुनै समस्या हुँदैन । वातावरणमैत्री वस्तुको प्रयोगमा पछिल्लो समय विश्वभरि नै आकर्षण बढेको छ । त्यसैल गाँजाखेतीबाट प्राप्त हुने आर्थिक लाभका लागि यसलाई सावधानीका साथ खुला गर्न ढिला भइसकेको छ । गाँजाबाट उच्च लाभ लिन सकिने र लागत पनि ज्यादै कम पर्ने भएकाले युवालाई स्वदेशभित्रै रोक्न यो सहयोगी हुन सक्ने देखिन्छ ।
गाँजाखेतीलाई वैधानिक बनाउनुपर्ने विषयमा संसद्भित्रै बारम्बार आवाज उठेको छ । केही आशंका र उपशंकाबाहेक यसको विपक्षमा खासै तर्क देखिँदैन । यसलाई जथाभावी खुला गर्दा युवा यसको कुलतमा फस्छन् भन्ने आशंकाले नै सरकार वैधानिक बनाउन डराइरहेको हो कि भन्ने देखिन्छ ।
हो, गाँजा खुला गर्दा यसको प्रयोग बढ्न सक्छ तर कतिपयको भनाइमा यो रक्सीभन्दा पनि कम हानिकारक छ । तैपनि यसलाई प्रशोधन गरेर अन्य लागूपदार्थ बनाउन सकिने भएकाले यसलाई पूर्णरूपमा खुला गर्न हुँदैन । नेपालमा सरकार कुनै पनि कुरालाई कि पूरा खुला छाड्छ कि केही पनि गर्नै नपाउने गरी बन्द गरिदिन्छ । यी दुवै प्रवृत्ति एकदम खराब छ । हरेक वस्तुको लाभहानि हुन्छ । सकारात्मक र नकारात्मक असर हुन्छ । त्यसो हुँदा नकारात्मक असरबाट बच्ने र सकारात्मक असर लिन सक्ने गरी काम गर्नु जरुरी हुन्छ ।
गाँजाखेती खुला गर्नुपर्छ तर त्यसको नियमनका लागि उपयुक्त संयन्त्र बनाइनुपर्छ । त्यसका निरीक्षण, अनुगमन र कारबाही प्रक्रिया स्पष्ट र पारदर्शी हुनुपर्छ । बलियो र स्पष्ट कानूनका साथै त्यसलाई कार्यान्वयन गर्ने बलियो संयन्त्र जरुरी हुन्छ । यस्तो व्यवस्था गरेर नेपालमा गाँजाखेती वैधानिक बनाइयो भने आर्थिक उन्नतिका लागि बलियो र दिगो स्रोत थपिनेछ । साथै, गाँजाको अनुसन्धान गर्ने, त्यसलाई प्रशोधन गर्ने र प्रशोधित वस्तु निर्यात गर्ने नीति लिनु आवश्यक छ ।
गाँजा सेवनले गम्भीर समस्या ननिम्त्याए पनि युवावर्ग यसमा लट्ठिने सम्भावनाप्रति भने पूर्ण ध्यान जानु आवश्यक छ । गाँजा खुलाउनुका फाइदा र बेफाइदाका पर्याप्त अध्ययन गरी त्यसअनुसार नीति बनाउन ढिला भइसकेको छ । नेपालका दुवै छिमेकीले यसलाई खुला गरेर लाभ लिइरहेको अवस्थमा नेपाल केही पनि नगरी बस्ने हो भने आर्थिक वृद्धिको एउटा ढोका सधैंका लागि बन्द नहोला भन्न सकिँदैन । आर्थिक अभियान