२०८३ असोज ७ , बुधबार
Sky News Nepal
September 23, 2026

हिलाम्मे ग्रामीण सडकमा ध्यान देऊ !



हिलाम्मे बाटोले पश्चिम सुर्खेत जाने यात्रुहरु मात्र होइन नगरभित्र बसोबास गर्नेहरु पनि आजित छन् । सडक नजिक घर हुनेहरु हिलो र धुलोको पीडामा बस्नु परेको छ । वर्षेनी मर्मतमा खर्च हुने गर्छ तर सडकको अवस्था विजोग हुने गरेको छ । ठेकेदारको लापरबाही र राज्यको अनुगमन निकाय फितलो हुँदा सुर्खेतका ग्रामीण सडकहरुको अवस्था निकै कमजोर देखिएको छ । सडक मर्मतमा स्यानीयबासीको सक्रियता देखिएपनि अनुगमन निकायले ध्यान नपु¥याउँदा सडकको अवस्था विजोग बनेको हो । प्राविधिक दृष्टिकोणले ट्¥याक खोल्नै नमिल्ने ठाउँमा समेत जथाभावी ट्¥याक खोल्नाले गाउँमा दुर्घटना हुने गरेको छ । बढी मोड, ठाडो, उकालो र ओरालो हुने भएकाले ग्रामीण सडकमा दुर्घटना हुने गरेको हुन् । वर्षा सुरु भएदेखि ग्रामीण क्षेत्रमा जाने सडक हिलाम्मे बनेका छन् । सुर्खेत सदरमुकामदेखि पश्चिम तथा जिल्लाको उत्तरी क्षेत्रमा जाने अधिकांस सडकखण्डहरुको बाटो अहिले बिजोग बनेको छ ।

ग्रामीण क्षेत्रका कच्ची सडक, त्यहि माथि पानीले हिल्लामे बाटोको यात्रा जोखिमपूर्ण छ । वर्षातका कारण कच्ची सडकहरु ठाउँ–ठाउँमा भत्किनुका साथै हिलाम्य भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानु पर्ने बाध्यता छ । सडकको अवस्था हेर्दा खेतमा रोपाई गर्न गएको जस्तो देखिन्छ । यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई धकेलेरै भएपनि गन्तव्यसम्म पु¥याउँछन् । पश्चिम सुर्खेतका अधिकांस ग्रामीण सडकहरुमा यात्रुले जोखिम मौल्दै भएपनि गन्तव्यतर्फ पुग्नुपरेको छ । कहिले बिग्रिएको बाटो सम्माउदै कहिले गाडी धकाल्दै गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । पानी परेपछि न सवारी साधन चल्छ न मान्छे नै हिड्न सकिन्छ । अरु समयमा तीन÷चार घण्टामा पुग्न सकिने बाटोमा दिनभरीको कष्टकर यात्रा गर्न नागरिक बाध्य छन् । जनताले भोग्नु परिरहेको समस्याप्रति घरदैलोको स्थानीय सरकारहरु विभिन्न बहाना बनाउँदै अरुलाई दोष दिएर उम्किन खोजिरहेका हुन्छन् । अहिले बड्डीचौर–गुटु–बेतान–बेनिघाट सडकको बेहाल छ । त्यस्तै कैलालीको चिसापानी–सुर्खेतको तातापानी–गुटु सडकको हालत पनि उस्तैछ । चिङगाड, सिम्ता र लेकबेशी नगरपालिका जाने सडकहरु पनि ठाउँ–ठाउँमा पहिरो गएका हिलाम्य सडकहरु दुर्घटना पर्खिरहेका भएपनि ति सडकहरुमा न यातायातका साधनहरु चल्न छाडेका छन् न सडक मर्मततर्फ कुनै पक्षको ध्यान नै गएको छ ।

सडक मर्मत सम्भारको लागि हरेक वर्ष करोडौंको खर्च भइरहेपनि सडकको अवस्थामा भने सुधार आउन सकेको छैन । पश्चिम सुर्खेतमा खाद्यान्न लगायत अन्य दैनिक उपभोग्य वस्तुहरु ढुवानीमा कठिनाई हुनुका साथै सदरमुकामका मानिसहरुको सम्पर्क भन्दा टाढै बस्नु पर्ने बाध्यता छ । यातायात सेवा सञ्चालन भएका ठाउँमा पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बाटोको अवस्था यति जोखिम पुर्ण र बिग्रिएको छ कि सवारी साधनमा यात्रा गर्नुभन्दा पैदल हिड्न सुरक्षित र छिटो हुने गर्दछ । बर्खायाम सुरु हुने वित्तिकै प्रायजसो ग्रामीण सडकका भाडादर पनि बढ्ने गरेको छ । मालसामान ढुवानीमा बर्षा सुरु हुने वित्तिकै साविकको भन्दा तेब्बरसम्म भाडा बढ्ने गर्दछ । त्यसबाट दैनिक उपभोग्य बस्तुहरुको मुल्य आकासिने गर्दछ भने उपभोग्य बस्तुहरुको अभाव समेत हुने गर्दछ । सडकमा सवारीका साधनहरु नियमित रुपमा चल्न नसक्दा बर्खाको समयमा उत्पादन हुने तरकारी तथा कृषि उपजसँगै पशुजन्य उत्पादनहरु विक्रीका लागि बजारसम्म ल्याउन समेत कठिन हुने गरेको छ । नागरिकले भोग्नु परिरहेका समस्याप्रति तत्काल स्थानीय र प्रदेश सरकार जिम्मेवार बन्नै पर्छ । समस्या समाधानका लागि जनप्रतिनिधिहरुले समेत पहलकदमी बढाउनु पर्छ ।

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतबार
Translate »