१७ हजार पर्यटकले रारा भ्रमण गरे

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । आर्थिक वर्ष २०८०÷०८१ को साउनदेखि असार मसान्तसम्मको अवधिमा १७ हजार २ सय ९७ जना आन्तरिक तथा बाह्य पर्यटक रारा पुगेका हुन् ।

त्यसमध्ये १७ हजार आन्तरिक, सार्क राष्ट्रका नागरिक ६० जना, अन्य देशका नागरिक २ सय ३७ जना गरी १७ हजार २ सय ९७ पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालय हुटु मुगुका निमित्त संरक्षण अधिकृत जयहरि धितालले जानकारी दिए ।

आर्थिक वर्ष २०७९०८० मा ११ हजार पर्यटक रारा पुगेका थिए । गत बर्ष ६ हजारले रारा पुग्ने पर्यटकहरू वृद्धि भएका हुन् । रारा घुम्नका लागि फागुनदेखि असार तथा असोजदेखि मङ्सिर र पुसदेखि माघ महिना उपयुक्त मानिन्छ ।

सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको सङ्ख्यामा बढ्दै जान थालेको हो । पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्गबाट दैलेख, कालीकोट, जुम्ला सिंजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन् ।

Translate »