पेट्रोलमा प्रतिलिटर १ र डिजेलमा २ रुपैयाँ घट्याे

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल, र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर मूल्यमा २ रुपैयाँ घटाइएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ०.९८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २.२८ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रुपैयाँ र डिजेलको मूल्य १५५.५० रुपैयाँ कायम भएको छ ।
यस्तै गरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ र डिजेलको मूल्य १५७ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।