नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने

 

काठमाडौं । नर्सिङ पढ्न अब १२ कक्षा उत्तीर्ण हुनै पर्ने भएको छ । यसअघि एसइई परीक्षा पास गरे लगत्तै नर्सिङ पढ्न पाइने व्यवस्थालाई परिमार्जन गरि कक्षा १२ पास गरेकाले मात्रै अध्ययन गर्न पाउने गरिको निमय बन्न लागेको हो ।

चिकित्सा शिक्षा आयोगले बनाएको कार्यदलले दिएको प्रतिवेदन अनुसार अब नर्सिङ अध्ययन गर्न १२ कक्षा उत्तिण भएको हुनुपर्ने छ ।
आयोगका कार्यकारी उपाध्यक्ष प्रा डा. अञ्जनीकुमार झाले नर्सिङ अध्ययन गर्नका लागि १२ कक्षाको मापदण्डलाई अन्तिम निष्कर्षमा पु¥याउन लागिएको जानकारी दिए ।

उनले  यससँग सम्वन्धित विभिन्न निकायसँग छलफल भइरहेको बताए ।   आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले १२ कक्षा उत्तिर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाई सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।

विदेशी मुलुकमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेको भन्दै कार्यदलले नेपालमा पनि सोही व्यवस्था लागु गर्न सुझाव दिएको हो ।

पछिल्लो समय मुलुकमा नर्सिङ पढाइप्रति विद्यार्थीको आकर्षण बढे पनि रोजगारीको अवस्था भने चित्तबुझ्दो छैन । नेपालमा वार्षिक चार हजार नर्स रोजगारी बजारमा जाने गरेका छन् । हाल नेपाल नर्सिङ काउन्सिलमा ८३ हजार नौ सय ६६ जना नर्स दर्ता छन् । तर अधिकांश नर्सको रोजगारीको गन्तव्य भने विदेश हुने गरेको छ ।

Translate »