काँचो स्याउ संकलन गर्ने व्यापारीका गोदाममा सिल

जुम्ला । जिल्लाको तिला गाउँपालिकामा नपाकेको स्याउ संकलन गर्ने व्यापारीका गोदाम सिल गरिएको छ । गाउँपालिकाको निर्णय र निर्देशन विपरीत लुकिछिपी स्याउ संकलन गरेका व्यापारीका गोदाम सिल गरिएको हो ।

यसअघि गाउँपालिकाले पालिकाका वडामा काँचो स्याउ नटिप्न निर्देशन जारी गरेको थियो । तिला गाउँपालिकाले भदौ ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न र निर्यातको लागि अनिवार्य सिफारिस लिनुपर्ने जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले लुकिछिपी स्याउ निर्यात भइरहेको पाइएपपछि ६ वटा स्याउ भण्डार गरिएका गोदाम सिल गरिएको बताईन् । उनका अनुसार अनुगमनको क्रममा काँचो स्याउ टिपेको पाइएपछि गोदाम सिल गरिएको हो ।


‘पालिकाको अगुवाइमा रारालिही र कटिनामा अनुगमन गरिएको हो । मनोमानी रूपमा स्याउ संकलन गरेको पाइएपछि सिल गरेका छौं,’ उनले भनिन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले तिलाका विभिन्न वडा तथा बस्तीहरूमा पालिकाको निर्णय विपरीत स्याउ संकलन भइरहेको पाइएपछि गोदाम सिल गरिएको बताए । उनका अनुसार अब सबै वडामा कडाइ गरिनेछ । तिलामा भदौ ५ गतेसम्म सिफारिस विना कसैले पनि स्याउ निर्यात गर्न नपाउने उनको भनाइ छ ।

जुम्लाका करिब १९ हजार घरधुरी स्याउ खेती गरिरहेको सरकारी तथ्याङ्क छ । यहाँका आठै पालिकामा स्याउ खेती हुन्छ । तर अधिकांश किसानलाई स्याउ बगैँचा व्यवस्थापनबारे ज्ञान नहुँदा श्रमअनुसारको लाभ लिन सकेका छैनन् । जुम्लामा ग्रेडिङ मेसिन पनि छैन ।

 

Translate »