बाँकेमा सहकारी ठगी सम्बन्धि उजुरी संकलन शुरु
नेपालगञ्ज । बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी सङ्कलन गरेको छ ।
हालसम्म नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर आसपासका करिब छ सय बचतकर्ताको उजुरी सङ्कलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उनले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बचत अपचनलविरुद्ध उजुरी सङ्कलन गरिएको र कति रकम अपचलन गरेको भन्ने निश्चित हुन बाँकी रहेको बताए । प्रहरीले गत साउन ८ गते सूचना प्रकाशन गरेर बचतकर्तालाई उजुरी गर्न आह्वान गरेको थियो ।
‘अब सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु हुन्छ,’ उनले भने । प्रहरीले यसअघि पनि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थालगायतको उजुरी सङ्कलन गरेको जनाएको छ । रासस