वीरेन्द्रनगरमा म्याद नाघेका खाद्य सामग्री जफत

सुर्खेत । वीरेन्द्रनगर बजार क्षेत्रका किराना पसल तथा मार्टले म्याद गुज्रिएका उपभोग्य वस्तु बिक्रीवितरण गरेको गुनासो बढेपछि सुर्खेत प्रशासनले बजार अनुगमन थालेको छ ।

संयुक्त बजार अनुगमन समितिले सोमबार म्याद नाघेका, दर्ता नभएका र अनुमतिबिना बिक्री वितरणका लागि राखिएका खाद्य सामग्री नष्ट गरेको हो । अनुगमन टोलीले अनुगमनका क्रममा फेला पारेका म्याद नाघेका, उत्पादन मिति उल्लेख नभएका, लेबल नलगाएका र अनुमति विना विक्री गर्न राखिएका सामग्री बरामद गरी सम्बन्धित व्यवसायीबाटै नष्ट गर्न लगाएको छ ।

अनुगमनका क्रममा व्यापारीले अधिकांस किराना पसलहरुले मूल्य सूची नराखेको, व्यवसाय कागजात प्रक्रिया पुरा नगरेको, बाहिर देखिने एउटा नाम भित्र अर्कै नामले पसल दर्ता गरेको लगयातका समस्याहरु पाईएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अधिकृत माधवप्रसाद न्यौपाने बताए ।

उनले म्याद नाघेका सामग्री बिक्री गरेको, मूल्य सूची तथा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाईएकाले अहिलेलाई चेतवनी दिएर छोडिएपनि अर्को पटक सुधार नगरे सिधै मुद्धा नै चलाईने जनाए । उनका अनुसार बजारमा दैनिक उपभोग्य सामाग्री खाद्य तथा पेय पदार्थमा बढी समस्या देखिएको छ ।

उपभोक्ताका गुनासा बढ्न थालेपछि सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डे, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका माधबप्रसाद न्यौपाने, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका विवेककुमार सुवेदी, नापतौल तथा गुणस्तर कार्यालयका कमलप्रसाद खराल, उद्योग वाणिज्य संघका कृष्णप्रसाद सुवेदी, वीरेन्द्रनगर नगरपालिकाका अधिकृत दिपेन सुवेदीसहित प्रहरी, राष्ट्रिय उपभोक्ता मञ्च, सञ्चारकर्मी सम्मिलित नेतृत्वको टोलीले वीरेन्द्रनगर बजारमा अनुगमन शुरु गरेको हो ।

अनुगमनका क्रममा चार वटा किराना तथा मार्ट पसलबाट म्याद गुज्रिएको मशाला, दालमोठ, चकलेट, मरिज, पेयपदार्थ अखाद्य वस्तु जफत गरिएको छ । बजार निरीक्षण अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्रीवितरणमा संलग्न ४ पसललाई सचेत गराइएको छ ।

प्रदेश अस्पताल परिसर भित्रको क्यान्टिनलाई समेत कच्चा सामग्रीमा मिसावट गरी बिक्रीवितरण गर्दै आएको भेटिएको छ । वीरेन्द्रनगर बजार क्षेत्रका बिक्रेताले विभिन्न किसिमका मालसामानलाई आकर्षक तथा स्वादिष्ट बनाउन खाद्य–पदार्थमा मिसावट गर्दा उपभोक्ता हैरान भएका छन् । बजारमा यो समयमा व्यापारीहरुले खाद्य–पदार्थमा अखाद्य वस्तुको मिश्रण गर्ने, मिति नाघेका उपभोग्य वस्तुको बिक्रीवितरण गर्ने, मिठाई तथा भोजनमा कपडामा लगाउने रङ प्रयोग गर्ने, चामलको तौल बढाउन कनिकाको मिश्रण गर्ने गरेको उपभोक्ताको गुनासो छ ।

‘बजार, होटल हरेक स्थानमा मिसावट नगरिएको सामानै पाइँदैन, अझ त्यसमा पनि म्याद सकिएको सामग्री पसलेले बिक्री गरिराखेका हुन्छन्,’ राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशका संयोजक आकाशतारा बयकले भने, ‘पसलेले कम लागतमा मिसावटयुक्त पदार्थको प्रयोग गरी बढी मुनाफा आर्जन गर्न खोज्दा उपभोक्ताको स्वास्थ्यमा खेलवाड भएको छ ।’

बजार अनुगमनमा सरकारी उदासीनताका कारणा बजारमा मिसावटयुक्त खाद्य–पदार्थको बिक्रीवितरण हात्तै बढेको छ ।

Translate »