सुर्खेतमा अबैध काठ बोकेको बोलेरो जीपसहित एक जना पक्राउ
वीरेन्द्नगर । सुर्खेतमा अबैध गोलिया काठ बोकेको बोलेरो जीपसहित एक जना पक्राउ परेका छन् ।
डिभिजन वन कार्यालय सुर्खेत वीरेन्द्रनगरको गस्ती टोलीले गएराती वीरेन्द्रनगर–११, मिलनचोकबाट अबैध गोलिया काठ बोकेको लु२च–२२३ नम्वरको बोलेरो जीपसहित काठ तस्करीमा संलग्न वीरेन्द्रनगर–२, फलाटेका धनिराम चौधरीलाई पक्राउ गरेको हो ।
गस्ती टोलीले चौधरीसहित बोलेरो जीप, मोटरसाइकल र ४९.७२ क्यूफिट गोलिया काठ नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाईएको वन कार्यालयका सूचना अधिकारी प्रशान्त श्रेष्ठले जानकारी दिए ।
उनले वनको गस्ती टोली देख्ना साथ भागेका चार जना काठ तस्कर मध्य कर्णाली प्रदेश–०२–००१प–९६६७ नम्वरको मोटरसाइकलमा सवार धनिराम चौधरीलाई मात्र पक्राउ गर्न सफल भएको जनाए ।
उनका अनुसार काठ तस्करीमा संलग्न ३ जना भागेर फरार भएकाहरुको खोजी कार्य जारी राखिएको छ । उनीहरु माथि वन ऐन २०७६ अनुसार कार्वाही अगाडि बढाईएको उनको भनाइ छ ।
पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका–९, चौरासे क्षेत्रमा पर्ने मदन भण्डारी राजमार्ग निर्माणका क्रममा कटानमुछान भई घाटगद्दी गरेर राखिएका गोलिया काठको अबैध चोरी तस्करी भइरहेको भन्ने सूचना आधारमा वनको गस्ती टोलीले चौधरीलाई रंगेहात नियन्त्रणमा लिन सफल भएको डिभिजन वन कार्यालयका प्रमुख बसन्त बाबु श्रेष्ठले जानकारी दिए ।
उनले वीरेन्द्रनगर आसपासका क्षेत्रमा पछिल्लो समय विभिन्न आयोजना निर्माण क्षेत्रहरु आसपास कटानमुछान भई घाटगद्दी गरेर राखिएका गोलिया काठको चोरी हुने क्रम बढेको गुनासो आएपछि वन कार्यालयले सघन गस्ती बढाएर काठ तस्करीमा संलग्न संगठित गिरोहको नजिक पुगिसकेकाले छिट्टै अरुलाई पनि पक्राउ गरी सार्वजनिक गरिने बताए ।
वीरेन्द्रनगरमा लामो समयदेखि लेकबेसी, भेरीगंगा र बराहताल आसपासका क्षेत्रका सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट संगठित काठ तस्करहरुको गिरोहले काठ तस्करी गर्दै आईरहेको छ ।