७० मिटर लम्बाईको पुल बनाउँन आठ वर्ष लाग्यो : शारदा नदी माथि पक्की पुल बनेपछि आवत जावतमा सहजता


सल्यान । निर्माण कार्य शुरु भएको ८ वर्ष पछि सल्यानको छत्रेश्वरी गाउँपालिका–६ र ७ लाई जोड्ने शारदा नदी माथिको पक्की पुल बनेको छ । ठेकेदार कम्पनीको चरम लापरवाहीले तोकेको समय भन्दा सात वर्ष पछि पुल निर्माण कार्य सम्पन्न भएको हो ।
विभिन्न बहाना बनाउँदै आएको ठेकेदार कम्पनीलाई सात पटकसम्म म्याद थप गरेपछि शारदा नदी माथि पुल निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय दाङले पक्की पुल निर्माणको लागि २०७३ सालको अन्त्यतिर ठेक्का आह्वान गरेकोमा एसबीए सूर्य जेभीले निर्माणको जिम्मा पाएको थियो । ७० मिटर लम्बाई रहेको पक्की पुल निर्माणका लागि कार्यालयले झन्डै ७ करोड लागतको उक्त निर्माणको काम एसबीए सूर्य जेभी २०७४ असार २१ देखि काम सुरु ग¥यो ।

२०७६ असार २० गते सम्पन्न गर्नु पर्ने पुल निर्माण कम्पनीले विभिन्न किसिमका जटिलता देखाउँदै आठ वर्ष लगाएर काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी उज्ज्वलकुमार झाले बताए । ‘लामो समय काम नगरेको ठेकेदार कम्पनीलाई कारबाही गर्दा तथा ठेक्का तोड्दा योजनाको काम अगाडि बढ्न नसक्ने र तत्काल नयाँ व्यवस्थापन गर्न गाह्रो हुने देखियो,’ उनले भने, ‘ठेक्का तोड्दा सरकारी बजेट समेत खेर जाने भएकाले नियमावली संशोधनसँगै योजनाको काम सम्पन्न गर्न पटक–पटक म्याद थप गरेर काम सम्पन्न गर्न बाध्य भएका हौं ।’
ठेकेदार कम्पनीले २०७६ असार २२ मा सम्पन्न गर्नु पर्नेमा ढिलै भएपनि पुलको काम सम्पन्न भएपछि राप्ती लोकमार्ग हुँदै छत्रेश्वरी गाउँपालिका ३ र ४ दारिमज्युला, झिम्पे, खर्सुबास जान स्थानीयलाई सहज भएको स्थानीय बताउँछन् ।

