बर्दियामा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु, दुई जना घाइते
बर्दिया । बर्दियाको शिवपुर सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज विहान जंगलवाकको क्रममा गैंडाको आक्रमणमा परी ठाकुर बाबा नगरपालिका–९ निवासी ३५ वर्षिय मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
गैंडाको आक्रमणबाट दुई जना घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार घाईते हुनेमा अमेरिकी नागरिक याम्सी लन्डन सावन र स्थानीय छिन्चु थारु रहेका छन् । याम्सी लन्डन सावनलाई उपचारको लागि नगर अस्पताल भुरीगाउँ पठाइएको छ भने छिन्चु थारुको अवस्था सामान्य रहेको छ ।
मधुबन नगरपालिका–१, स्थित शिवपुर सामुदायिक वनमा २०८१ सालको भदौ २० गते राति ठाकुर बाबा नगरपालिका–९ स्थित बर्दिया होमस्टेमा बास बसेका याम्सी लन्डन सावन, मनमोहन चौधरी र छिन्चु थारु जंगलवाकमा निस्किएका थिए । बिहान करिब ८ बजे उनीहरूलाई गैंडाले आक्रमण गरेको थियो ।
ती मध्ये चौधरीको घटनास्थलमै मृत्यु भयो भने लन्डन सावन र थारु घाइते भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए ।