श्री एयरले काठमाडौं–पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने


काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ(पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने जनाएको छ ।
एयरलाइन्सले आगामी असोज ४ गतेसम्म काठमाडौं–पोखरा विमानमार्फत यात्रा गर्दा एउटा टिकट सित्तैमा दिने भएको हो ।
एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिए ।

‘पोखरा–काठमाडौं गन्तव्यमा हवाई यात्रुको चहल पहल बढाउन तथा पर्यटन प्रवद्र्धनका लागि यो अफर ल्याएका हौं,’ उनले भने, ‘यसबाट थोरै भएपनि एयरलाइन्सको गतिविधि बढ्ने र पर्यटन क्षेत्रमा पनि केही राहत मिल्ने विश्वास लिएका छौं ।’
आसोज ४ गतेसम्म टिकट खरिद गर्नेले उक्त अफर पाउनेछन् । खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्नेछ । श्री एयरको आन्तरिक उडानमा फिक्स्ड विङतर्फ १० विमान र आठ रोटर (हेलिकप्टर) छन् ।
कम्पनीसँग सीआरजे र बम्बार्डियर ड्यास-८-क्यू-४०० विमान छन् । आन्तरिक उडानतर्फ श्री एयरलाइन्सले पछिल्लो समय विमान थपेर गन्तव्य विस्तार गरिरहेको छ ।
कम्पनीले काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत तथा पर्वतीय उडान (माउन्टेन फ्लाईट) सञ्चालन गर्दै आएको छ ।

