रूसमा युक्रेनको विशेष सैन्य अपरेशनको अर्थ

सैन्य रणनीतिक चालको अविश्वसनीय प्रदर्शन गर्दै युक्रेनले रूसको कुस्रक क्षेत्रमा गरेको एक अनपेक्षित र अकल्पनीय सैन्य कारबाहीको १ महीना पूरा भएको छ । रूसले युक्रेनमा सैन्य कारबाही शुरू गरेको झन्डै साढे २ वर्षपछि युक्रेनले पनि रूसभित्र आफ्नै विशेष सैन्य अप्रेशन शुरू गरेको हो । दोस्रो विश्व युद्धपछि रूसभित्र विदेशी सैन्य आक्रमण भएको यो पहिलोपटक हो ।

रूसको कुस्रक क्षेत्रमा युक्रेनी अपेरशन जुलाईको अन्त्यतिर गरिएको हवाई हमलाको साथ शुरू भएको थियो । युक्रेनको स्थल सेना ६ अगस्त, २०२४ देखि रूसी इलाकामा शुरूमा निकै तीव्र गति र हालैका दिनमा बिस्तारै अगाडि बढिरहेको छ । विभिन्न रिपोर्टमा जनाइएअनुसार, युक्रेनी सेनाले झन्डै १००० वर्ग किमी क्षेत्रमा आफ्नो नियन्त्रण स्थापना गरेको छ । युक्रेनी सेनाले थुप्रै रूसी सैन्य उपकरणहरूसहित आपूर्ति सञ्जाल तोड्न पुलहरू पनि नष्ट गरेको छ र रूसी

सेनालाई ठूलो नोक्सान पुर्‍याएको छ । युक्रेनी बलले अहिलेसम्म दुरुस्त रूपमा रहेको ६ ओटा ट्यांक र चारओटा ट्रक आफ्नो नियन्त्रणमा लिएको बताएको छ ।

युक्रेनको कुस्रक आक्रमण एक साहसिक जुवा हो । यो आक्रमण युद्धको व्यापक मोर्चामा एक घुम्ती साबित हुन सक्छ । कुस्रकमा युक्रेनको लक्ष्य मध्य दोनेत्स्क र दोनबासको पूर्वी क्षेत्रका अग्रपंक्तिमा रहेका रूसी सेनाहरूलाई विचलित गराउनु पनि रहेको छ । युक्रेनी आक्रमण हुँदाहुँदै पनि हालैका दिनहरूमा दोनेत्स्क क्षेत्रमा लडाइँ झन् तीव्र भएको छ र युक्रेनका लागि जोखिम बढ्दै गएको छ । युक्रेन आफैमा मानव र सैन्य स्रोत साधनको कमीबाट गुज्रिरहेका बेला यो सैन्य कार्यबाहीले उसलाई झन् अप्ठ्यारोमा पार्ने देखिएको छ ।

अझै पनि रूसी सेना १००० वर्ग किलोमीटरभन्दा बढी क्षेत्र कब्जा गरेको युक्रेनी सेनालाई हटाउन संघर्ष गरिरहेको छ । यद्यपि अहिले उनीहरू युक्रेनी सेनाको प्रगतिलाई सुस्त बनाउन केही सफल भएका छन् ।

युक्रेनमा चलिरहेको आक्रमणको स्वाद रूसलाई चखाउने भन्ने राष्ट्रपति जेलेन्स्कीको भनाइ रहेको छ । जोखिमपूर्ण हुँदाहुँदै पनि यो रणनीतिक महत्त्वका साथै युक्रेनीहरूका लागि भावनात्मक पनि रहेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त यदि कब्जा गरेको भूमि रूसी सेनाबाट जोगाई राख्न सके, युक्रेनले भविष्यमा हुने वार्तामा रूसले कब्जा गरेको युक्रेनी भूमिसँग आदानप्रदान गर्न मोलतोल गर्न सक्नेछ । यो आक्रमण निश्चित रूपमा युक्रेनी जनता र सेनामा मनोबल बढाउन पर्याप्त छ ।

रूसी सेना किएभ, खार्किभ र खेर्सनमा भएको हारबाट पहिले नै लज्जित छ । अर्को लक्ष्य भनेको अग्रपंक्तिमा रहेका रूसी सेनाहरूलाई हटाउन बाध्य पार्नु पनि हो । युक्रेनका राष्ट्रपतिका एक सहयोगीले रूसको कुस्रक क्षेत्रमा आक्रमण गर्नुको उद्देश्य मस्कोलाई युद्ध अन्त्य गर्न निष्पक्ष शान्ति वार्ता शुरू गराउन दबाब दिनु रहेको बताएका छन् । तर, रूसले अझै पनि ढिलै र थोरै भए पनि पूर्वी मोर्चामा युक्रेनी सेनालाई हराइरहेको छ र युक्रेनी क्षेत्रहरू कब्जा गरिरहेको छ ।

रिपोर्टहरूमा जनाइएअनुसार अग्रपंक्तिको लडाइँबाट टाढा, कुस्रक क्षेत्र युक्रेनको पूर्व र दक्षिणमा ६०० माइल अगाडिको अन्य ठाउँको तुलनामा निकै सजिलो थियो । कुस्रकको प्रवेश नाकाहरूमा बख्तरबन्द गाडीहरू रोक्ने खाल्डा निकै कम थिए । ड्य्रागनको दाँत भनेर चिनिने प्रतिट्यांक अवरोधहरू पनि कम थिए र दोहोरो फायरिङको स्थिति नै थिएन । यसले युक्रेनी सेनाहरू सजिलै अगाडि बढे र सीमा जाँच विन्दुहरू नष्ट गरे । थोरै माइन र निकै कम सैन्य अवरोधहरू भएकोले युक्रेनी मेकानाइज्ड ब्रिगेडहरू धेरै ठाउँहरूमा कुनै प्रतिरोधविना नै द्रुत गतिमा अगाडि बढे ।


युक्रेनले आफ्नो एलिट सैन्य दस्तालाई गुपचुप र सिविल रूपमा सुमी क्षेत्रमा तैनाथ गरेको थियो भने ट्यांकहरूलाई रूसी ड्रोन हमलाबाट जोगाउन नागरिकको घरमा लुकाएर राखेको थियो । योजना यतिसम्म गुपचुप राखिएको थियो कि सैन्य कारबाहीमा सहभागी गराउन लगिएका लडाकूहरूलाई समेत यो योजनाको जानकारी थिएन । रूसले यो सम्भावनालाई पूर्णतया बेवास्ता गरेको थियो किनभने रूसले वास्तवमै यस्तो हुने अपेक्षा गरेकै थिएन । युक्रेनको अप्रत्याशित आक्रमणले पुटिनको शासनको कमजोरीलाई पनि उजागर गरेको छ । कुस्रक क्षेत्रमा रूसी सेना भर्खरै भर्ती भएका सेनामा भर परेको थियो जब कि युक्रेनले सावधानीपूर्वक योजना बनाएर कुशल सेना पठाएको थियो । रूसीहरूसँग युद्धको स्थितिमा प्रतिरोधको कुनै योजना नै थिएन ।

युक्रेनको जारी विशेष सैन्य कार्यबाहीले रूसी सेनाले अझै पनि युद्धबाट केही नसिकेको रूसी सेनाको स्पष्ट चित्र देखाएको छ । अत: अझै पनि रूसी सेनाले १००० वर्ग किलोमीटरभन्दा बढी क्षेत्र कब्जा गरेको युक्रेनी सेनालाई हटाउन संघर्ष गरिरहेको छ । जनशक्ति, मेशिन र गोलाबारुदमा बलियो रूसले वास्तवमै आफ्नै क्षेत्रमा आफ्नो स्थान कायम राख्न कठिन संघर्ष गरिरहेको छ । यद्यपि अहिले उनीहरू युक्रेनी सेनाको प्रगतिलाई सुस्त बनाउन भने केही सफल भएका छन् । रूसले एमएलआरएस, रकेट, आर्टिलरी, हेलिकोप्टर, लडाकू विमान, बमवर्षक, ड्रोनदेखि लिएर आफ्नो स्टोरमा उपलब्ध जासुसी र निगरानी गर्ने जहाजसम्म सबै साधनहरू प्रयोग गरिरहेको छ ।

रूसले यो वर्ष युक्रेनमा कब्जा गरेको भूमिभन्दा युक्रेनले रूसको कुस्रक क्षेत्रमा धेरै भूभाग ओगटेको छ तर के युक्रेनले यसलाई सधैंभरि जोगाइराख्न सक्छ ? युक्रेनी प्रमुख कमान्डर सिस्र्कीले अहिले के स्वीकार गरेका छन् भने प्रगति सुस्त भएको छ र ध्यान पहिले नै कब्जा गरिएको भूमिलाई सुदृढीकरण गर्नमा लगाइएको छ । तर, रूसी सेना युक्रेनको पूर्वी शहर पोक्रोभस्कको नजिक पुगेका छन् । स्थिति खराब रहेकोले त्यहाँबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ । अब एउटा गम्भीर प्रश्न उठ्छ कि युक्रेनको कुस्रक आक्रमणले रूसलाई दोनबासबाट हटाउन असफल भएको छ त ? जवाफ छ, छैन ।

कुस्रक मा युक्रेनको लक्ष्य मध्य दोनेत्स्क र दोनबासको पूर्वी क्षेत्रका अग्रपंक्तिमा रहेका रूसी सेनाहरूलाई विचलित गराउनु पनि रहेको छ । युक्रेनी आक्रमणका बीच हालैका दिनहरूमा दोनेत्स्क क्षेत्रमा लडाइँ झन् तीव्र भएको छ

पोक्रोभस्क कीभको सेनाका लागि एक महत्त्वपूर्ण आपूर्ति केन्द्र हो । मस्कोका सेनाहरू रणनीतिक महत्त्वको उक्त शहरको १० किलोमीटरभित्र पसेका छन् । र, अब युक्रेनी राष्ट्रपति जेलेन्स्कीले स्वीकार गरेका छन् कि जमीनमा स्थिति धेरै गाह्रो छ ।

सैन्य विशेषज्ञहरू सहमत छन् कि अपरेशनको प्राथमिक उद्देश्य दोनबासमा संलग्न रूसी सेनाहरूको पुन: परिचालन गर्नलाई रूसलाई दबाब दिन असफल भएको देखिन्छ । उल्टो, पूर्वी अग्रपंक्तिमा कुस्रक आक्रमणको प्रभाव परेको छ । निस्सन्देह, पोक्रोभस्कमा रूसी सफलताले युक्रेनको आशाविपरीत दोनेस्त्क क्षेत्रमा व्यापक रूपमा युक्रेनको फिर्तीलाई निम्त्याउन सक्छ । पोक्रोभस्क एक महत्त्वपूर्ण आपूर्ति केन्द्र भएकोले रूसी सेनाले युक्रेनको यो आपूर्ति शृंखलाको केन्द्रलाई ध्वस्त पार्न पोक्रोभस्क पूरै कब्जा गर्न पनि आवश्यक छैन ।

कुस्रक क्षेत्रमा युक्रेनको आक्रमणले कीएभको सबैभन्दा धेरै घुम्ती शक्तिलाई दोनबासबाट टाढा लगेको कारण आवश्यक सैन्य शक्तिको कमी भइ रहेको छ । तर पनि जेलेन्स्की भन्छन् कि युक्रेनी सेनाहरूले अवधारणात्मक रूपमा कुस्रकको क्षेत्रलाई अनिश्चित अवधिका लागि कब्जा गर्ने योजना बनाएका छन् । राष्ट्रपति जेलेन्स्कीको दाबीपछि पनि दोनबासमा ध्यान केन्द्रित गरेर मस्कोले स्पष्ट गरिरहेको छ कि रूस दोनबासको बदलामा कुस्रक साँट्न इच्छुक छैन । आर्थिक अभियान

लेखक अन्तरराष्ट्रिय मामिलाका अध्येता हुन् । 

Translate »