भेरी अस्पतालमा सिकल सेल एनिमियाका तीन जना बिरामीको हिप प्रत्यारोपण

बाँके । भेरी अस्पतालमा तिन जना बिरामीको जटिल प्रकारको हिपको प्रत्यारोपण गरिएको छ । भेरी अस्पतालका हाड जोर्नी तथा नशा तथा मेरुदण्ड रोग विशेषज्ञ डा.तिर्थेन्द्र खडकाको टिमले सिकल सेल एनिमियाका तीन जना बिरामीको पहिलो पटक हिपको सफल प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ ।

डा. तिर्थेन्द्रले भने , ‘२ जना बर्दिया र १ जना सुर्खेतको बिरामीको हिपको प्रत्यारोपण गरिएको छ ।’ उनले हिप प्रत्यारोपण गरिसकेको र उपचारपछि बिरामीहरूले दिने गरेको प्रतिक्रियाले आफूलाई काम गर्न प्रेरित गरेको बताए । नेपालमा अझै पनि हिप,जोर्नी प्रत्यारोपणको बारेमा मानिसहरूलाई ज्ञान नभएका कारण पीडामा बस्नुपरेको प्रति उनले चिन्ता व्यक्त गरे ।


सिकल सेल रोग विज्ञ डा. राजन पाण्डेले सिकल सेल एनिमियाका बिरामीहरूको आवश्यकता अनुसार हिप प्रत्यारोपण मोफसलमा सुरु भए पछि बिरामीहरूलाई राहत भएको बताए ।

‘१ हजार १ सय सिकल सेलका बिरामीहरू प्रत्यक्ष सम्पर्कमा रहेर उपचार गराई रहेका छन् । ती मध्ये ४ हजार भन्दा बढीको उपचार भईसकेको छ,’ उनले भने, ‘सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग हो । यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको सङ्ख्या घटाउँदै लैजान्छ । त्यस पछि जोर्नी, हिप लगायत शरीरको विभिन्न भागमा असर गर्ने गर्दछ ।’ बाँकेमा हाल १५० जना सिकल सेलका बिरामी रहेको डा. पाण्डेको भनाई छ ।

नेपाल सरकारले सिकल सेल एनिमियाका बिरामीको हिप, जोर्नी प्रत्यारोपणमा पनि एक लाख बराबरको सहुलियत दिँदै आएको डा. पाण्डेले जानकारी दिए ।

Translate »