सल्यानमा भेटियो स्क्रब टाइफस

सल्यान । सल्यानमा पहिलो पटक स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पतालमा उपचारका लागि आएका नौ जनामा संक्रमण पुष्टि भएको हो ।

भदौ महिनामा मात्रै नौ जनामा स्क्रब टाइफस भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । आठजना महिला र एकजना पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढा मगरले जानकारी दिए । उनका अनुसार शारदा नगरपालिकाका चार, बागचौर नगरपालिकाका तीन, छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये चारजना १३ वर्षमुनिका बालबालिका रहेको उनको भनाइ छ । यसअघि जिल्लामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थिएन ।


बिरामीमा ज्वरो आउने, पसिना आउने लगायतका लक्षण देखिएको अस्पतालले जनाएको छ । समयमा नै उपचार गरे निको हुने भए पनि ढिलाइ गरे ज्यानै जान सक्ने डा. बुढामगरको भनाइ छ ।

डा. बुढामगरले सुरुमै उपचारमा आउँदा औषधिकै भरमा निको पार्न सकिने भए पनि ढिलो गरी आउँदा भर्ना नै गर्नुपर्ने अवस्था निम्तिने बताए । उनले पाँचदेखि दश दिन औषधी प्रयोग गरे बिरामी पूर्ण रुपमा निको हुने जनाए । मुख्यतः मुसाले टोकेपछि यो रोगले आक्रमण गर्छ ।

मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा यो रोग सर्ने गर्छ । एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको छ ।

Translate »