२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित



सुर्खेत ।  भदौ २८ गते (भोलि) का लागि तय भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ।

विद्यार्थीहरुले विश्वविद्यालयको कार्यकारी परिषद्लाई विपक्षी बनाइ दायर गरेको रिटमा उच्च अदालत सुर्खेतले निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपछि निर्वाचन स्थगित भएको हो।

निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीमा आफूहरुको नामावली नआएको भन्दै विश्वविद्यालयको साइन्स एण्ड टेक्नोलोजी विभाग अन्तर्गत छैटौं सेमेस्टरका विद्यार्थीले बुधबार उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । उनीहरुले आफूहरुलाई पनि स्ववियुको मतदान प्रक्रियामा सहभागी गराउनुपर्ने रिटमा उल्लेख गरेका छन् ।

रिट माथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलासले कार्यकारी परिषद्का नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ। इजलासले अन्तरिम आदेश र छलफलका लागि असोज ६ गते दुबै पक्षलाई बोलाएको उच्च अदालत सुर्खेतका प्रवक्ता एवम् उप–रजिष्ट्रार प्रेम थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भदौ २७ गते बिहीबार
Translate »