नेपालमा ‘हट एयर बलुन’ महोत्सव हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक अन्तरराष्ट्रिय ‘हट एयर बलुन’ महोत्सव हुने भएको छ । यससँगै पर्यटकीय क्रियाकलापमा नयाँ प्रडक्ट थपिएको छ ।

व्यावसायिक उडान गरेको ६ वर्षको अवधिमा बेलुन नेपाल प्रालिले पोखरामा यो महोत्सव गर्न लागेको हो । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसरमा महोत्सव गर्न लागिएको कम्पनीका अध्यक्ष विक्रम बाडेले बताए । महोत्सवको तयारी तथा सञ्चालनमा रू. ६ करोड ८२ लाख खर्च हुने जानकारी उनले दिए ।

आउँदो डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म महोत्सव सञ्चालन हुनेछ । पर्यटकीय राजधानी पोखरा र मुलुकको समग्र पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु महोत्सवको उद्देश्य रहेको छ । महोत्सवमा नेपालसहित ३० देशका व्यावसायिक कम्पनीलाई सहभागी गराइनेछ बाडेले बताए ।


महोत्सवमा करीब ५०० व्यावसायिक उडान हुने र त्यसबाट ३ हजार जनाले उडान गर्ने कम्पनीले बताएको छ । महोत्सव अवधिभर हरेक दिन बिहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटले हट एयर बलुनको उडान गर्नेछन् । यसका लागि कम्पनीले आफूसँग भएका पाँचओटा र थप २५ ओटा बलुन स्पेन, फ्रान्स, मलेसिया, जापान, थाइल्याण्ड, अष्ट्रिया, लाओस, जर्मनी, भारतलगायत देशबाट ल्याउनेछ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारको प्रस्तुतिसहित अन्य गतिविधि पनि हुने बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भूलले पोखरामा उक्त महोत्सवका लागि हट एयर बलुन उडानको अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘प्राधिकरणले अहिले प्राविधिक पक्षको विश्लेषण गरिरहेको छ, अबको ३–४ दिनमा उडानको अनुमति दिइनेछ,’ उनले भने, ‘पर्यटकीय प्रडक्ट पनि भएकाले यात्रुको सुरक्षामा कुनै कमीकमजोरी गर्न मिल्दैन, सुरक्षाका विषयमा प्राधिकरणको सहयोग र समन्वय रहनेछ ।’

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले पर्यटकको बसाइँ बढाउन प्रडक्ट थप्ने योजनाअनुसार नै यी कार्यक्रम भइरहेको बताए । महानगरले माइस पर्यटनलाई पनि प्राथमिकतामा राख्ने उनको भनाइ छ । अहिले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान हुन नसके पनि आन्तरिक उडानले नै क्षमताभन्दा बढी यात्रुलाई सेवा दिएको उनले बताए  ।

Translate »