२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

उपभोक्ता मुद्रास्फीति घट्यो



काठमाडौ । नेपाल राष्ट्र बैंकले प्रकाशन गर्दै आएको देशको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार गत साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति गत वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

गत वर्ष यस्तो मुद्रास्फीति ७.५२ प्रतिशत रहेकोमा यो वर्षको साउनमा ४.१० प्रतिशत छ ।

समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत छ । गत वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८.९० प्रतिशत र ६.६२ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९.०७ प्रतिशत, दाल तथा गेडागुडीको १२.०९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ३.६६ प्रतिशतले बढेको छ भने मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २.७५ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्ग ७९४ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.३८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ४.५८ प्रतिशत र सुर्तीजन्य पदार्थको ३.५२ प्रतिशतले बढेको छ भने बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्कमा परिवर्तन भएको छैन ।

समीक्षा महीनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.२८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.०३ प्रतिशतले बढेको छ ।

प्रदेशगतरूपमा समीक्षा महीनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६१ प्रतिशत, मधेश प्रदेशको ४.१७ प्रतिशत, बागमती प्रदेशको ३.४९ प्रतिशत, गण्डकी प्रदेशको ३.९० प्रतिशत, लुम्बिनी प्रदेशको ३.८१ प्रतिशत, कर्णाली प्रदेशको ३.४६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.६९ प्रतिशत छ ।

समीक्षा महीनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत, तराईको ४.४९ प्रतिशत, पहाडको ३.६७ प्रतिशत र हिमालको ४.५३ प्रतिशत छ । २०८० साउनमा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ८.५० प्रतिशत, ६.७० प्रतिशत, ७५० प्रतिशत र ११.४६ प्रतिशत थियो ।

थोक मुद्रास्फीति 

२०८१ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.६६ प्रतिशत छ । गत वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ४.३४ प्रतिशत थियो ।

समीक्षा महीनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः १.५१ प्रतिशत, ५.१८ प्रतिशत र २.०८ प्रतिशत छ । समीक्षा महीनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.२१ प्रतिशतले घटेको छ ।

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति 

२०८१ साउनमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत छ । सन् २०२४ अगष्टमा भारतमा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत छ ।  आर्थिक अभियान

प्रकाशित मिति : २०८१ असोज १२ गते शनिबार
Translate »