२०८३ असोज ७ , बुधबार
Sky News Nepal
September 23, 2026

ग्रामीण सडक सञ्चालनमा ल्याऊ !



चाडपर्व नजिकिएपनि ग्रामीण सडकहरुको मर्मत सम्भारमा स्थानीय जनप्रतिनिधिहरुको ध्यान पुग्न सकेको छैन् । पश्चिम सुर्खेतमा वर्षाले क्षति पु¥याएका दर्जन बढी सडकहरुको मर्मत नहुँदा दशैंं–तिहारमा घर आउजाउ गर्नेलाई मात्र नभई हिंडेर आउजाउ गर्ने बस्तीवासीलाई समेत सास्ती झेल्नु परिरहेको छ । पश्चिम सुर्खेतका अधिकांस सडकहरु वर्षा, ट्¥याक्टर र ट्रिपरले बाटो विगार्दा पैदलयात्रु तथा साना सवारी साधनहरुलाई आवातजावत गर्न नै समस्या भएको छ । सबैभन्दा बढी विजौरा पश्चिमका नागरिकले कच्ची सडकका कारण दिनहूँ सास्ती खेप्नु परिरहेको छ । कच्ची सडकको दुरावस्था बनेपछि स्थानीय उत्पादनहरु बजारसम्म पु¥याउन कृषकलाई असहज भईरहेको छ । बड्डीचौर–गुटु–बेनिघाट सडकखण्ड हुँदै तरकारी तथा दुधजन्य बस्तुहरु दैनिक रुपमा स्थानीयले साना बजारसँगै सदरमुकाम वीरेन्द्रनगर पु¥याएर बिक्री गर्ने गरेका छन् । अहिले कृषकसँगै स्थानीय विद्यार्थीलाई समेत यसको असर परेको छ । दैनिक रुपमा संयौको संख्यामा आवातजावात गर्ने विद्यार्थीहरुलाई सडक विग्रिदा समस्या भएको हो । अविरल वर्षाबाट आएको बाढी र पहिरोले भेरी र कर्णाली नदी तटिय क्षेत्रका बासिन्दालाई थप सकस बनाईरहेको छ ।

प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसँग जोडिएका प्रायः सबै ग्रामीण कच्ची सडकहरु अस्तव्यस्त छन् । कच्ची सडक बन्द भएपछि त्यसको सीधा असर जनजीविका, उद्योगव्यवसाय र अर्थतन्त्रमा पर्छ । त्यतिमात्र होइन, गाउँमा कोही विरामी परेकाहरुलाई समयमै उपचारका लागि लैजान पनि सडक अनिवार्य हुन्छ । त्यसैले प्रदेश सरकारको पहिलो प्राथमिकता ग्रामीण सडकहरुको मर्मत सुधार गरी सहजरुपले आवात जावतको व्यवस्था मिलाउनु पर्ने हुन्छ । वर्षातले क्षति पु¥याएका नागरिकलाई राहत, पुर्नवास जस्ता काम प्राथमिकतामा पर्छ, तर सडक सञ्जाल अवरुद्ध हुँदा त्यसको असर चौरतर्फी पर्छ । कर्णालीका ग्रामीण सडक अवरुद्ध भएपछि अत्यावश्यक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउँछ । अहिले नै सुर्खेतमा तरकारीको भाउ अचाक्ली बढेको छ । चाँडै नै सडक सुचारु भएन भने खाद्यान्नहरुको मूल्य पनि बढ्न सक्छ । दशैंतिहारजस्ता ठूला चाडपर्व मुखैमा छ । तर, सडक सास्तीले वस्तुको सहज ढुवानी हुन नसके कर्णालीको सुस्त अर्थतन्त्रलाई झनै सुस्त बनाउन सक्छ । एकातिर बजारमा तरकारीको भाउ बढेको छ भने अर्कातिर किसानले तरकारी विक्री गर्न नपाएर पनि समस्या छ । यसरी सडक सञ्जाल बन्द हुँदा आर्थिक गतिविधि ठप्प अवस्था आउन सक्छ ।

प्रदेश सरकारले पश्चिम सुर्खेतबाट विद्युत ल्याउन मात्र होइन अबरुद्ध ग्रामीण सडकहरुलाई सञ्चालनमा ल्याउन स्थानीय जनप्रतिनिधिहरुलाई परिचालन गर्न जरुरी छ । स्थानीय जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बनाउने जिम्मेवारी र मध्यस्तकर्ताको भूमिका प्रदेश सरकारले खेल्न सक्नु पर्छ । अहिले कुनकुन सडक खण्डमा के कति क्षति भएको छ र तिनलाई तत्काल सञ्चालनमा ल्याउन केके गर्नुपर्छ भनेर प्रदेश सरकारले काम थाल्न ढिला भइसकेको छ । अर्को कुरा के हो भने, पहिरो बढी जानुमा जथाभावी सडक खनिनु एउटा कारण हो । त्यस्तै सडक विस्तार गर्दा जमिसकेको बाटो खोस्रने काम भएको छ । त्यही भएर जहाँ जहाँ यस्ता काम भएका छन् ती ठाउँमा पहिरोले बढी क्षति पु¥याएको छ । अब सडक बनाउँदा जथाभावी नबनाई पर्याप्त अध्ययन गरेर मात्रै बनाउने नीति तय गरिनुपर्छ । डोजर चालकलाई इन्जिनीयर बनाउँदाको परिणति अहिले ग्रामीण क्षेत्रका नागरिकले भोगिरहेका छन् । अतः तत्कालका लागि सडक सुचारु गर्न प्रदेश सरकारले आफ्नै क्षमता परिचालन गर्न आवश्यक छ भने सडक निर्माणमा दीर्घकालीन उचित नीति बनाउनेतर्फ पनि ध्यान दिनु जरुरी छ ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमबार
Translate »