राजमार्ग अवरुद्ध भएसँगै हवार्ई यात्रामा चाप

काठमाडौं । शुक्रवार र शनिवारको बाढीपहिरोले संघीय राजधानी जोड्ने राजमार्गहरू अवरुद्ध भएपछि हवाई यात्रुको संख्या बढेको छ । सामान्य अवस्थामा यात्रु नपाउँदा दुईओटा उडान मर्ज (गाभेर) गरेर एउटै जहाजमा उडाउने वायुसेवा कम्पनीका सिट आइतवार पूरै भरिए ।

कतिपय एयरलाइन्सको सिट मंगलवारसम्मका लागि शतप्रतिशत बुक भइसकेको छ । बाढीपहिरोका कारण सडक मार्ग अवरुद्ध बन्दा उपत्यकाबाहिर जाने र भित्रने यात्रुको चाप अहिले हवार्ईजहाजमा सरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतवार गरेको पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हवाई टिकट नपाएको गुनासो गरे । ‘बाढीपहिरोबाट क्षतिग्रस्त जलविद्युत् परियोजनाको स्थलगत अवलोकनका लागि जान हाम्रो समूह तयार छ,’ घिसिङले भने, ‘तर, हवाई टिकट नपाउँदा जान सकिरहेका छैनौं ।’

शुक्रवार र शनिवार ठप्प प्राय: रहेको आन्तरिक उडान आइतवार नियमित थियो । शनिवार साँझदेखि मौसममा सुधार आएसँगै हवाई यात्रा गर्नेको संख्या बढेको सम्बद्ध एयरलाइन्स कम्पनीले जानकारी दिएका छन् । शुक्रवार र शनिवारका उडान पनि आइतवार सर्दा यात्रु चाप बढेको हो । सातओटा जहाजबाट सेवा दिइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाले मंगलवारसम्मका लागि शतप्रतिशत टिकट बुकिङ भइसकेको जानकारी दिए ।

सामान्य अवस्थामा ४० प्रतिशत उडान हुने गरेको बताउने बर्तौला भन्छन्, ‘आइतवार पूर्ण क्षमतामा सेवा दियौं, मंगलवारसम्मका लागि पूरै बुकिङ छ ।’ आइतवार एकदमै भीडभाड रहेको जानकारी दिएका बर्तौलाले यती एयरलाइन्सले यस दिन ७० पटक उडान/अवतरण गरेको बताए । ‘अरू दिन ३०/३२ उडान राख्दा पनि यात्रु नपुगेर उडान मर्ज गरेर सेवा दिनुपथ्र्यो,’ उनले भने ।

सबैभन्दा बढी जहाज भएको बुद्ध एयरले आइतवार साविकको जस्तै उडान भएको जानकारी दिएको छ । शुक्रवार र शनिवारका लागि टिकट किनेका यात्रुलाई पनि आइतवार नै सेवा दिनुपर्दा र नयाँ यात्रुसमेत थपिँदा केही चाप भएको बुद्ध एयरका सञ्चार प्रबन्धक दीपेन्द्र कर्णले जानकारी दिए ।


  •  वायुसेवा कम्पनीहरूले बुधवारसम्म अधिकतम भाडा नलिने
  •  मंगलवारसम्मका लागि शतप्रतिशत टिकट बुक

‘विराटनगर, तुम्लिङटार, भैरहवालगायतको टिकट सबै बुकिङ भइसकेको छ,’ कर्णले भने, ‘केही गन्तव्यका टिकट भने अझै बाँकी छन् ।’ बुद्धले अहिले दैनिक १७० (उडान/अवतरण दुवै गरी ३४०) उडान गर्दै आएको छ ।

यसैबीच विपद्को मौका छोडेरे हवार्ई भाडा बढाएको गुनासो आएपछि वायुसेवा कम्पनीहरूले अधिकतम भाडा दरमा टिकट विक्री नगर्ने निर्णय गरेका छन् । सरकारले स्थानअनुसार अधिकतम र न्यूनतम हवाई भाडा दर तोकेको हुन्छ । यात्रुको चाप बढेसँगै हवार्ई भाडा अधिक असुलेको गुनासोबीच आइतवार वायुसेवा सञ्चालकको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले अधिकतम भाडा नलिने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको पहलमा आइतवार बसेको बैठकपछि संघले सोमवारदेखि लागू हुने गरी अधिकतम भाडाको टिकट नकाट्न निर्देशन जारी गरेको हो । संघले आइतवार सूचना जारी गरेर सबै सदस्य वायुसेवा कम्पनीलाई सोमवारदेखि बुधवारसम्म अधिकतम (अपर लिमिट)को भाडादरमा टिकट नबेच्न निर्देशन दिएको छ । संघका अध्यक्ष मनोज कार्कीका अनुसार विपद्को अवस्थामा अधिकतम भाडादर लागू नगर्ने निर्णय भएको हो । श्री एयरले पनि अधिकतम भाडा हटाएको जानकारी दिएको छ ।

अन्तरराष्ट्रिय उडानमा सहुलियत दिन आग्रह

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रवारदेखि बुधवारसम्मका लागि अग्रिम टिकट लिइसकेका अन्तरराष्ट्रिय उडानका यात्रुले पुन: सेवा लिँदा विभिन्न शुल्क नलगाउन नेपालमा अन्तरराष्ट्रिय उडान गरिरहेका वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ ।

असोज ११ देखि १६ गते अन्तरराष्ट्रिय उडानका लागि टिकट काटिसकेका तर भारी वर्षाका कारण उडान अवरुद्ध भई यात्रा गर्न नसकेकालाई यो सुविधा आउँदो अक्टोबर ११ (असोज २५ गते) सम्म दिन प्राधिकरणले आग्रह गरेको हो ।

उडान समय परिवर्तन गर्दा लाग्ने शुल्क, अनुपस्थितिबापत लिने शुल्क, भाडा बढाउने र अन्य विभिन्न शुल्क नलिन अनुरोध गरिएको हो । आर्थिक अभियान

Translate »