२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

वायुसेवा निगमको न्यारोबडी जहाज पहिलोपल्ट आन्तरिक उडानमा



काठमाडौं । नेपाल वायुसेवा निगमले पहिलोपल्ट आफ्नो न्यारोबडी जहाज आन्तरिक उडानका लागि उपयोग गर्ने भएको छ । असोज ११ र १२ गतेको अविरल वर्षाजन्य बाढीपहिरोबाट काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरू क्षतिग्रस्त भएकाले स्थल आवागमनमा कठिनाइ भएको सन्दर्भमा निगमले असोज २४ गते फूलपातीका दिन न्यारोबडी जहाजबाट काठमाडौं–भैरहवा उडान गर्न लागेको हो ।

उक्त रूटमा निगमको ए३२० जहाजबाट उद्धार उडान गर्न लागिएको निगमले एक प्रेस विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ ।

‘विगतमा न्यारोबडी जहाज आन्तरिक उडानमा टेस्ट फ्लाइटका लागि प्रयोग गरिए पनि यात्रु लिएर उड्न लागेको पहिलोपल्ट हो,’ निगमका प्रवक्ता (प्राविधिक) मनोजकुमार साहले भने, ‘अन्तरराष्ट्रिय उडान तालिकामा खाली रहेको समय निकालेर भैरहवा उडान गर्न लागिएको हो ।’

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले न्यारोबडी जहाजबाट यात्रुलाई गन्तव्यमा पुर्‍याउन निगमलाई निर्देशन दिएका थिए ।

निगमका अनुसार काठमाडौंबाट भैरहवाको उडान बिहान ११ बजे हुनेछ भने भैरहवाबाट दिउँसो १२ बजेर ३० मिनेटमा जहाज काठमाडौं फिर्ता आउनेछ । ‘सोमवार साँझसम्म जहाजको १५८ सिटको बुकिङ लगभग भइसकेको छ,’ साहले भने । निमगले काठमाडौं–भैरहवाका लागि प्रतियात्रु ७ हजार रुपैयाँ भाडा तय गरेको छ । भैरहवाबाट काठमाडौं आउने टिकटको मूल्य ३ हजार ८९० रुपैयाँ  तोकेको छ ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मंगलबार
Translate »