

बड्डीचौर । नेपाल घरेलु तथा साना उद्योग महासंघ बराहताल गाउँ महासंघ सुर्खेतको अध्यक्षमा चेतनप्रसाद चालिसे निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न बराहताल गाउँमहासंघको तेस्रो गाउँअधिवेशनले चालिसेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मदनकुमार बस्नेत, उपाध्यक्ष तिलकप्रसाद शर्मा, महासचिव भूमिका गन्द्रमा, कोषाध्यक्ष जगत मस्याङली तथा सदस्यहरुमा रेखा नेपाली धनमाया रोकाय, भविसरा पौडेल, हिमा गन्द्रमालाई निर्वाचित गरेको छ ।
त्यस्तै अधिवेशनले जिल्ला प्रतिनिधिमा दिव्या थापा, गगन बस्नेत र बलबहादुर खड्कालाई निर्वाचित गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बराहताल गाउँ महासंघका निर्वतमान अध्यक्ष रुद्रबहादुर विकको अध्यक्षता तथा बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरको प्रमुख आथित्यततामा भएको थियो ।


अधिवेशनमा बराहताल–५, का वडाध्यक्ष धिमराज जोल्मी, महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष वीरबहादुर नेपाली, प्रदेश सचिव गिता खड्का, सुर्खेत जिल्ला अध्यक्ष सुमननाथ योगी, उपाध्यक्ष पविलाल पोखरेल, कार्यबाहक महासचिव खिमकुमारी सोतीमगर, जिल्ला सदस्य ओमप्रसाद शर्मा र टोल विकास संस्थाका अध्यक्ष रत्नलाल सुवेदीलगायतले नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले उद्योगको प्रमुख आधारशीला भनेकै साना तथा लघु उद्योग भएकाले साना उद्योगको विकास विना ठूला उद्योगहरुको विकास हुनै नसक्ने बताए । उनले पछिल्लो समय उद्योगीका नाममा विचौलियाहरुको हालिमुहाली बढेकाले उद्योग क्षेत्रका आएको विचलनलाई हटाउन उद्योगीहरु नै गोलबन्द हुन आवश्यक रहेको औल्याए ।
त्यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश प्रदेशका उपाध्यक्ष वीरबहादुर नेपालीले झोलामा उद्योग बोकेर राज्य छलकपट गरी अनुदान लिने प्रवृत्ति बढिरहेकाले वास्तविक उद्यमीहरु ओझेलमा परेको जनाए ।












