भेडाबारी सडकले फड्को मार्दै


वर्षातमा हिलाम्य र सुख्खायाममा धुलाम्य हुनु ग्रामीण सडकको समस्या हो । जिल्लाका अधिकांश ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, जिल्ला सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका ग्रामीण सडकको स्तरोन्नती समयमा गर्न नसक्दा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परिरहेको थियो । पूर्वी तथा उत्तरी सुर्खेतका साटाखानी, गर्पन, कल्यान, रानीवास, नेटा, डाडाखाली, बजेडीचौर लगायत थुप्रै गाउँलाई कर्णाली प्रदेशको राजधानीसँग जोड्ने धुलियाविट–भेडावारी–बोटेचौर सडकखण्डको स्तरोन्नती अहिले तीव्रगतिमा भईरहेको छ । मर्मत सम्भारको अभावमा खतरनाक बन्दै गईरहेको धुलियाविट–भेडावारी–बोटेचौर सडकलाई पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गका रुपमा विकास गर्न लागिएपछि ट्¥याक खुलेको करिब ४५ वर्षपछि पक्की सडकका रुपमा रुपान्तरण हुन लागेको हो । रुख कटानको काम सकिएसँगै सडक निर्माणको कामले तीव्रता पाएको छ ।

तोकिएकै मितिमा काम सक्ने गरी निर्माण कम्पनीलाई ताकेता गरेपछि निर्माण कार्यले गति लिएको हो । तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी कालोपत्रेको ३५ किलोमिटरमध्ये २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी १५ किलोमिटर कालोपत्रेको तयारीमा निर्माण कम्पनीले गति बढाएको छ । धुलियाबिट–भेडाबारी सडकखण्ड अन्तर्गत १८ किलोमिटर वन क्षेत्र पर्दछ । एक हजार ११४ वटा रुख काटिएका छन् । राजमार्गको निर्माणमा हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उक्त सडकखण्डमा म्याद थप गरेर अहिले निर्माण कार्य धमाधम भइरहेको हो । आयोजनाको वित्तीय प्रगति ८० प्रतिशत रहेको छ । १५ प्रतिशत काम बाँकी छ । थपिएको मितिमा काम सम्पन्न गर्ने गरी अघि बढेको आयोजनाले जनाएको छ । अहिले निर्माणको काम धमाधम भइरहेको छ । साथै उक्त सडकखण्डमा १२ वटा पक्की पुल निर्माण हुने छन् ।
दुई छुट्टा छुट्टै ठेक्का सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको हो । पुलको ठेक्का सम्झौता फरक–फरक निर्माण कम्पनीसँग गरिएको छ । सात वटा पुल निर्माणको काम ९० प्रतिशत भौतिक प्रगति भएको छ । अर्को ठेक्कामार्फत पाँच वटा पुल निर्माणको काम भइरहेको छ । लामो समयदेखि भौगोलिक उत्पीडनबाट दुःख पाउँदै आएका यसक्षेत्रका नागरिकलाई सडक कष्टबाट अब छिट्टै अन्त्य हुने विश्वास गरिएको छ । सडक स्तरोन्नती भएपछि उत्तरपूर्वी खण्डका नागरिकलाई वीरेन्द्रनगर आउजाउ गर्न सहज हुनेछ । पूर्व क्षेत्रका नागरिकको आर्थिक समृद्धिसँग जोडिएको भेडाबारी सडकखण्ड स्तरोेन्नती भएपछि ठूलो राहत मिल्नेछ । नागरिकलाई सहज यातायात सुविधासहित सुर्खेतबाट काठमाडौं जानलाई हालको भन्दा ५० किलोमिटर दूरी छोटो पर्नेछ । सहज यातायातको अभावमा सुर्खेतको विकासका लागि बाधकको रुपमा रहेको धुलियाविट–भेडावारी–बोटेचौर सडकखण्डले सुर्खेतवासीलाई मात्र नभई कर्णालीका बासिन्दालाई समेत सुविधा पुग्नेछ । तर उक्त सडक मापदण्ड अनुसारको गुणस्तरीय निर्माणका लागि सम्बन्धित पक्षसँगै स्थानीय नागरिकको पनि खबरदारी र चाँसो उत्तिकै आवश्यक देखिन्छ ।

