चेकजाँच होइन, सचेतना बढाऔं !

सडक यातायातमा भर्खर पहुँच बढाइरहेको कर्णालीमा पछिल्लो समय लगातार भएका दुर्घटनाका खबरले यात्रु र सवारीचालक त्रसित बनेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो एक सातामा कर्णालीमा १७ वटा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते छन् । चालु आर्थिक वर्षमा कर्णालीभरि ४८ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । त्यस्तै २०७६ यता ६ सय ६६ जनाको सडक दुर्घटनामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अधिकांश सडक दुर्घटना ओभरलोड, साँघुरो बाटो र तीव्र गतिका कारण हुने गर्छन् । कर्णालीमा जति पनि दुर्घटना हुन्छन्, त्यो चालक र यात्रुको लापरबाहीका कारण हुने गरेको पाईन्छ । पाँच सिट क्षमताको गाडीमा ३२ जना बस्ने कहाँबाट हुन्छ ? सधैं प्रहरीले रोकेर हुन्छ र ? अब त यात्रुमा पनि सचेत हुनु नै पर्छ । सडकको दयनीय अवस्था, पुराना सवारी साधन र चालकको लापारबाही दुर्घटना बढ्नुको मुख्य कारण हो । ट्राफिकले गाडीमा यात्रुको संख्या जाँच गरेर मात्र दुर्घटना कम हुने हैन, सवारी चालकको आचरण कसले जाँच गर्ने ? प्रदेश प्रहरी कार्यालयका अनुसार २०७६ यता कर्णालीमा ६ सय ६६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।

दुर्गमका कच्ची सडकमा मात्र नभई राजमार्गमै झन् धेरै दुर्घटना भइरहेका छन् । चेकपोस्टमा गाडी इन्ट्री गराउँदा कम संख्या देखाएर ढाँट्ने, चेकपोस्टनजिक यात्रु झारेर हिँड्ने गरेको पाइएको छ । प्रहरीले हेर्दा गाडीमा मानिस पनि कम हुन्छन् तर दुर्घटना हुँदा धेरै परेको पाइन्छ । अब सवारी दुर्घटनामा कमी ल्याउन प्रहरीसँगै यातायात व्यवसायी, यात्रु सबै सचेत हुनु आवश्यक छ । कर्णालीमा दुर्घटना हुने मुख्य कारणमा साँघुरो तथा कच्ची बाटो, ओभरलोड, चालकको लापरबाही, ट्राफिकको अनभिज्ञता र पुराना र थोत्रा सवारीसाधन धेरै चल्ने भएकाले दुर्घटना बढिरहेको प्रहरीको छ । त्यसैमा यातायात व्यवसायीहरुको सिण्डिकेटले समेत दुर्घटना बढाउने गरेको छ । यद्यपि दुर्घटना बढ्न थालेपछि केही दिन चेकजाँचमा कडाइ गरिन्छ । कर्णाली राजमार्ग, सुर्खेत–दैलेख सडक, छिन्चु–जाजरकोट सडकमा चल्ने सवारी साधनहरूमा ट्राफिक प्रहरीले विशेष निगरानी राख्दै चेकजाँचमा कडाइ गरेपनि यसलाई निरन्तरता दिन आवश्यक देखिन्छ । शनिवार मात्र क्षमता भन्दा बढी सिट जडान गरिएका ३२ वटा सवारी साधनका ७३ वटा अतिरिक्त सिटहरु हटाइएको छ । त्यस्तो गर्ने सवारी साधनलाई नियमानुसार कारबाही पनि गरिन्छ । शनिवार बेलुका नै सुर्खेतबाट काठमाडौं जाने रात्रिकालीन बसमा क्षमताभन्दा बढी यात्रु राखेपछि १५ वटा बस प्रहरीले वीरेन्द्रनगरबाट बाहिरिने सुब्बाकुना नाकामा रोक्यो ।

क्षमता भन्दा बढी यात्रु बोक्ने कुरा प्रहरी मात्र नभई नागरिक, सवारी चालक र सबैको दायित्व हुन्छ । दुर्घटनामा बढ्नुमा यात्रु, चालक र सबै निकायको भूमिका देखिन्छ । दुर्घटना न्यूनीकरणको लागि सबै सरोकारवाला निकायहरू उत्तिकै जिम्मेवार हुनु पर्छ । सबै जिम्मेवार निकाय र व्यक्तिले ट्राफिक नियमको उल्लंघन गर्ने र ट्राफिक प्रहरीले मात्र नियमको पालना गराएर मात्र सवारी दुर्घटना न्यूनीकरण गर्न सकिदैन् । भौगोलिक विकटता, जीर्ण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, अस्वस्थ प्रतिस्पर्धाका कारण सडक दुर्घटना बढिरहेका छन् । दुर्घटना न्यूनीकरणमा कुन–कुन निकाय र व्यक्तिको भूमिका हुन्छ भन्ने ज्ञान सबैमा हुन जरुरी रहेको र त्यसपछि मात्रै प्रभावकारी रुपमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । अब दुर्घटना न्यूनीकरणको लागि ट्राफिक नियमको अक्षरशः पालना गराउने, जनचेतनामूलक कार्यक्रम बढाउने, सम्बन्धित निकायहरूसँग समन्वय गरी सडक निर्माण, चालक, सह–चालक लक्षित सचेतना, सवारी दर्ता किताबमा दर्ता भएको सिट भन्दा बढी जडान गरिएका सिटहरू हटाउने, ओभर लोड नियन्त्रण गर्ने लगायतका योजनाहरु बनाउन आवश्यक देखिन्छ । साथै रिफ्रेस सेन्टर कार्यान्वयन गर्ने, टाइम कार्ड लागु गर्नुका साथै मापसे चेकजाँचमा कडाइ, तीव्र गति नियन्त्रण गर्न रेडर गाउनको प्रयोग गने योजनाहरु बनाईनु पर्छ ।

Translate »