चिसोले प्रहरी चौकी बेसीतिर सारियो

मुगु । चिसोको चपेटाले मुगुको मुगुम कार्मारोङ गाउँपालिका(२ मा स्थानीय जनजीवन र सीमा सुरक्षामा गहिरो प्रभाव पारेको छ ।

अत्यधिक चिसोका कारण स्थानीय बासिन्दाले घरमा ताल्चा लगाएर तल बेसीतिर झर्ने क्रम सुरु गरेका छन्। यससँगै, सीमा सुरक्षामा खटिएका प्रहरीलाई पनि अस्थायी रूपमा चितैकुना स्थानतर्फ स्थानान्तरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुले सीमा सुरक्षामा चुनौती नआओस् भनी सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक सहित ९ जना प्रहरीलाई चितैकुना क्षेत्रतर्फ सारिएको जनाएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार मङ्सिर १५ मा यो स्थानान्तरण गरिएको हो ।

गत वर्षहरूमा सीमा प्रहरी चौकीलाई सदरमुकाम गमगढीमा सार्ने गरिएको भए पनि यसपटक स्थानीय सरकारको अनुरोधमा चौकीलाई चितैकुनामा राखिएको प्रहरी नायव उपरीक्षक सरोज गिरीले जानकारी दिनुभयो । गर्मी सुरु भएपछि चौकीलाई पुनः सीमातर्फ फर्काइने प्रनाउ गिरिले जानकारी दिए । चिसो मौसम सुरु भएसँगै अधिकांश स्थानीयले आफ्नो बस्ती छाडेर तल बेसीतिर झर्ने गर्छन् ।

हिमपातका कारण गाउँ सुनसान हुने र नाका बन्द भई आवागमन ठप्प हुने स्थिति सिर्जना हुन्छ। यस्तो अवस्थामा प्रहरी चौकीलाई तल सार्नु परम्परा जस्तै बनेको छ । चिसो छल्न स्थानीय र प्रहरी दुवै तल झर्ने हुँदा सिमामा सुरक्षाको अभाव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

तर, यसपटक बेसीतिरको कार्यक्षेत्र थप व्यवस्थित बनाइएको बताउँदै प्रनाउ गिरीले सुरक्षा चुनौतीलाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे । चिसोको चक्रले स्थानीय जनजीवन र सुरक्षा व्यवस्थापनमा निरन्तर प्रभाव पार्दै आएको छ । अब गर्मी सुरु नभएसम्म मुगुको सीमा प्रहरी चौकी चितैकुनाबाट सञ्चालन गरिने बताइएको छ ।

Translate »