क्यान्सर उपचार केन्द

सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गरेको छ । त्यसै रणनीति अनुसार सरकारले सातै प्रदेशबाट क्यान्सरको परीक्षण र उपचार केन्द्र सञ्चालन गर्ने घोषणा ग¥यो । प्रदेश अस्पताल सुर्खेतमा चार महिना वित्दासमेत क्यान्सर उपचार केन्द्र सञ्चालनमा आउन सकेको छैन । गत भदौ १२ मा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग भएको सम्झौता अनुसार तीन महिना भित्रै सञ्चालनमा ल्याउने योजना बनाईयो । सम्झौतालगत्तै भरतपुरबाट आएको विशेषज्ञ चिकित्सकको टोलीले प्रदेश अस्पतालमा भदौ १३ मा क्यान्सरका सम्भावित बिरामीको परीक्षण पनि गरेको थियो । सम्झौतामा बीपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग उपचार सेवा प्रदान गर्नुपर्ने उल्लेख गरेको थियो । सुर्खेतको प्रादेशिक अस्पतालको क्यान्सर नियन्त्रण रणनीतिमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कर्णालीमा सेवा विस्तार गर्ने उल्लेख थियो ।
रणनीति कार्यान्वयनका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि पारित ग¥यो । क्यान्सर रोगको निदानका लागि प्रदेश अस्पतालमा अत्याधुनिक उपकरण भएपनि भरतपुरबाट विशेषज्ञ चिकित्सकको टोली नआउँदा उपचार हुन सकेको छैन् । अस्पताल तयारै हुँदासमेत उता (भरतुपर) बाट विशेषज्ञ टोली आएन, पहिलो पटक कार्यक्रम सञ्चालन मात्र भयो । अहिले कुन–कुन रोगको विशेषज्ञ आउने भन्ने टुंगो नलाग्दा विमारीको नाम समेत दर्ता हुन सकेको छैन् । सम्झौतामा सुर्खेत आउने विशेषज्ञ चिकित्सकको यातायात, खाना र आवास खर्च भरतपुर अस्पतालले नै बेहोर्ने उल्लेख छ । अस्पतालका सम्बन्धित विभागबाटै क्यान्सर जाँच गर्ने व्यवस्था मिलाइएको थियो । क्यान्सरको उपचार सुरु हुने खबरले प्रदेश अस्पतालमा बिरामीको संख्या बढेको थियो । तर पछिल्लो समय सरकारले नै सस्तो लोकप्रियताका लागि कार्यक्रम घोषणा नामा घोषणा मात्र गर्ने चलन बढेको देखिएको छ । सम्झौंता पछि कार्यान्वयनमा चासो दिएको पाइदैन् । स्वास्थ्य मन्त्रालयले पनि कम्तीमा एक जना डाक्टरलाई फोकल पर्सन तोके सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सक्थ्यो । तर त्यसतर्फ कसैको ध्यान नपुग्दा नागरिक क्यान्सर जस्तो घातक रोकका लागि महँगो खर्चमा बाहिर जान बाध्य छन् ।

यस्तै जनशक्ति अभावले प्रदेश अस्पताल सुर्खेतमा सुरु भएको मिर्गौला प्रत्यारोपण सेवापनि ६ महिनादेखि ठप्प भएको छ । गत असार २६ गते दुई जनाको सफल मिर्गौला प्रत्यारोपण भएपनि त्यसयता प्रदेश अस्पतालमा यो सेवा अवरुद्ध छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेत बीच मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न तथा डायलाइसिस सेवालाई विस्तार गर्ने समझदारी भएर सेवा सुरु गरिएको थियो । त्यसपछि ४ जनाको मिर्गौला प्रत्यारोपण गरिए पनि प्रदेश अस्पतालमा जनशक्ति नहुँदा अहिले सेवा ठप्प भएको हो । २०७९ माघ २१ गते सुरु भएको मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनमा आएको थियो । यससँगै कर्णाली प्रदेशअन्तर्गत विभिन्न अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने र यसका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्र अन्तर्गत जनशक्तिको तालिम, अध्यापनलगायत व्यवस्थापन गर्ने पनि समझदारी भएको थियो । आवश्यकतामा आधारित कार्यक्रम घोषणा गर्नु अघि स्रोतको सुनिश्चितता गरेर नै दिर्घकालिन रहन सक्छ । त्यसैले अब नागरिकको मागमा आधारित स्वास्थ्य सेवालाई प्रभावकारीरुपमा सञ्चालन गर्न प्रदेश सरकारले समेत समन्वयकारी भूमिकालाई गतिशील बनाउन आवश्यक देखिन्छ ।