नेपाली सेनाद्वारा ‘रन फर यूनिटी’ प्रतियोगिताको तयारी पुरा

सुर्खेत । नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘रन फर यूनिटी’ एकताका लागि दौड प्रतियोगिताको तयारी पुरा गरेको जनाएको छ ।
सेनाले सुर्खेत स्थित पृतना हेडक्वाटरमा आज पत्रकार सम्मेलन गरेर विगतका वर्षमा झैं यसपटक पनि निरन्तरता दिँदै ‘रन फर यूनिटी’ प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारीहरु पुरा भएको जानकारी दिएको हो । नागरिक र सेनाबीचको सम्बन्ध बढाउने उद्देश्यका साथ महाशिवरात्री तथा सेना दिवसको अवसरमा उत्तर पश्चिम पृतनाले २०७८ सालदेखि एकताका लागि दौड (रन फर यूनिटी) सञ्चालन गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा सेनाका चिफ अफ स्टाफ दिनेश रजौरेले आगामी फागुन ३ गते हुने प्रतियोगिताले खेलकुद क्षेत्रको विकाससँगै विद्यार्थी, खेलाडीलाई हौसला प्रदान गर्न र राष्ट्रिय एकता एवं संस्कृति जगेर्ना गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले कर्णाली प्रदेशको विशेषताको रुपमा रहेको लामो दूरीको दौड र विभिन्न सांस्कृतिक कार्यक्रममार्फत राष्ट्रिय एकताको भावना विकास गर्नका लागि (रन फर यूनिटी) प्रभावकारी बन्दै गईरहेको जनाए ।
उक्त दिन दौड प्रतियोगिताको अतिरिक्त सैन्य सामग्रीका साथै पृतना र मातहतका युनिटका फौजी गतिविधिको फोटो प्रदर्शनी समेत गरिने उनले बताए । उनका अनुसार २१ मिलोमिटर दौडमा ७५ देखि १ सय जना प्रतिस्पर्धी हुने छन् । जसमा प्रथम, द्वितीय र तृतीय पुरस्कार ३५ हजार, २५ हजार र १५ हजार राखिएको छ ।
त्यस्तै ५ किलोमिटर दौडमा कर्मचारी, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, अन्य सुरक्षा निकायका प्रतिनिधि, नेपाली सेनाका ईच्छुक सकलदर्जा, गैससकर्मी, अन्तर्राष्ट्रिय गैससकर्मी, भूपू सुरक्षाकर्मी, स्थानीय क्लबहरु, पत्रकार तथा स्थानीय नागरिकको सहभागिता रहनेछ । (रन फर यूनिटी) प्रतियोगिमा सहभागिता जनाउनका लागि कर्णालीका दश वटै जिल्ला स्थित नेपाली सेनाको ब्यारेकमा फाराम दर्ता गर्न सकिने व्यवस्था मिलाईएको छ ।