पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको बैठकले गएरातीदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपैयाँ र बाह्यतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६७ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६६ र अरु क्षेत्रमा १६४ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै डिजेल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६० रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५९ रुपैयाँ र अरु क्षेत्रमा १५७ रुपैयाँ ५० पैसा पर्नेछ ।