कर्णालीका महिलाको तरकारी खेती तर्फ आकर्षण बढ्दै -फोटो फिचर

सुर्खेत । पछिल्लो समय कर्णालीका महिलाको तरकारी खेती तर्फ आकर्षण बढेको छ ।

विभिन्न संघ संस्थाको प्राविधिक तथा आर्थिक सहयोग पाएपछि दिगो जीविकोपार्जनका लागि व्यावसायिक तरकारी खेती तर्फ महिलाको आकर्षण बढेको हो । साहस नेपालको पाईला परियोजना मार्फत गाउँ टोलमा विभिन्न कृषि समूह गठन गरेर आधुनिक तरकारी खेतीसँगै उच्च मूल्यका बालीको संरक्षणका लागि उनीहरु संगठित समेत भएका छन् ।

रोजगारीको खोजीमा पुरुषहरु भारतसँगै तेस्रो मुलक जानेक्रम बढेपछि महिला व्यावसायिक तरकारी खेतीतर्फ जुटेका हुन् । पुरुष विदेशिने क्रम बढेसँगै कृषि कार्यको नेतृत्व महिलाको काँधमा थपिएको साहस नेपाल पाईला परियोजनाका अनुगमन अधिकृत खगेन्द्र विकले बताए ।

उनले गाउँवस्तीबाट पुरुषहरु विदेशिने क्रम बढेपछि महिलालाई व्यवसायिक खेतीमा आबद्ध गराएर आर्थिकरुपमा सबल बनाउन लागिएको जनाए । उनका अनुसार अहिले जाजरकोटको शिवालय गाउँपालिका र कालिकोटको नरहरिनाथ गाउँपालिकालाई महिला मैत्री, वातावरणीय दृष्टीले दिगो, जलवायु तथा विपद् उत्थानशील बनाई खाद्य सुरक्षा र जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले फेल्म नेपालको साझेदारीमा कार्यक्रम सञ्चालन भईरहेको छ ।

‘२ सय २८ घरपरिवारले तरकारी उत्पादनबाट पारिवारिक पोषणको पूर्ति गरी बाँकी बचेको तरकारी स्थानीय बजारमा विक्री गरेर मासिक बीस हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन्,’ उनले भने, ‘महिलाहरु व्यावसायिक खेतीबाट आत्मनिर्भर हुन थालेपछि पारिवारिक हिंसाका घटनामा समेत कमी आईरहेको छ । समग्र कृषि कार्य र पारिवारिक अर्थतन्त्रको नेतृत्व महिलाको हातमा पुगेपछि महिला सशक्तीकरणमा समेत टेवा पुगिरहेको छ ।’

उनले आर्थिक अवस्था सवल हुन थालेपछि कतिपय पारिवारिक मतभेद र बेमेलहरु पनि अन्त्य भएको जनाए । यता कर्णाली प्रदेश सरकारले समेत कृषिबाटै गरिबी अन्त्य गर्ने योजना अघि सारेको जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशमा अहिले २६ दशमलव ६९ प्रतिशत नागरिक गरिब छन् ।

सरकारले प्रदेशवासीलाई गरिबीको चक्रबाट मुक्त गर्न कृषिबाटै गरिबी अन्त्य गर्ने योजना अघि सारेको मन्त्रालयका सचिव पर्शुराम रावतले बताए । उनले कर्णालीवासीको मुख्य आम्दानीको स्रोत कृषि भएकाले कृषिमा नयाँ प्रविधि र लगानीमार्फत नागरिकलाई आत्मनिर्भर कार्यक्रम अघि सारिएको जनाए ।

‘चालु आर्थिक वर्षका लागि मन्त्रालयसँग १ अर्ब ८६ करोड बराबरको बजेट छ,’ उनले भने, ‘कृषिको आधुनिकीकरण र पशुपन्छीमा लगानी गरेर रोजगारी सिर्जना गर्ने मन्त्रालयको मुख्य लक्ष्य रहेको छ ।’ उनले चालु आवको पछिल्लो ६ महिनामा मन्त्रालयले १६ दशमलव ४७ प्रतिशत आर्थिक प्रगतिसँगै ३७ प्रतिशत भौतिक प्रगति गरेको बताए ।

Translate »