जाजरकोटका विकट गाउँहरुमा अबैध अफिम खेती फस्टाउँदै

जाजरकोट । जाजरकोटका विकट द्दगाउँमा यतिवेला अफिम खेती अवैध रुपमा फैलिएको छ । स्थानीयवासीहरुले अफिम खेतीलाई व्यापकरुपले अपनाएका छन् । यो खेती जाजरकोटको विभिन्न विकट र उच्च भूःभागमा गरिएको पाइएको छ।
जिल्लाको नलगाड नगरपालिका १ देखि १३ वटै वडामा अफिम खेती व्यापकरुपमा गरिएको छ । अफिम उत्पादनको यो गतिविधि गत वर्षभन्दा यस वर्ष अझ बढेको देखिन्छ। कात्तिक महिनामा रोप्ने र बैशाख तथा जेठ महिनामा संकलन गर्ने परम्परा रहेको छ । व्यापारीहरुले गाउँमै पुगेर स्थानीयलाई बीउ उपलब्ध गराई खेती गर्न प्रोत्साहित गर्ने गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । अफिमको मूल्य प्रति किलो ८० हजार देखि १ लाख रुपैंयासम्म रहेको बताइएको छ।

नलगाड ९ नम्वर वडाका एक स्थानीयका अनुसार, त्यहाँ २० जनाभन्दा बढी स्थानीय व्यक्ति अफिम खेती र यसको कारोबारमा संलग्न रहेका छन् । धेरैजसो कारोवारीहरु भारतीय र नेपाली जेलमा कारागार जीवन विताइ रहेका छन् । यसका बाबजुद, स्थानीयलाई अफिमको खेती र व्यापार गर्न नहुने बारेमा चेतावनी दिइए पनि उनीहरूले त्यसको पालना गर्न इन्कार गर्दै छन् ।
नलगाडको सिउन, रुप, गेउ, औलगुता, खातीगुर्ता, लेखतीर, वानीयागाउँ, रावतगाउँ, ध्यारगाउँ, ताँत्र, घरंगा, लुपाना, भरगाउँ, मुकसिरी, नहकुली लेक, किटेनी, द्वारे, भदाले, करुवा कट्के, चच्चुलाइना, प्यारगारा लगायतका स्थानमा अफिम खेती गरिएको देखिन्छ । स्थानीयहरूले आर्थिक प्रलोभनमा परी यसको उत्पादनमा अझ बढी जोड दिएको पाइन्छ।
लागू औषध अफिमको उत्पादन र विक्री वितरण कानूनी रूपमा निषेधित भएपनि स्थानीयवासीहरूले त्यसको उल्लंघन गरेका छन् । यस विषयमा प्रहरी प्रशासन भने मौन बनेको देखिन्छ । जसले यस अवैध गतिविधिको नियन्त्रण गर्न कुनै विशेष कदम नचालेको आरोप छ । रासस