प्रदेश आयुर्वेद अस्पतालद्वारा एक महिने निःशुल्क ‘स्क्रिनिङ’ अभियान शुरु

सुर्खेत । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतले एक महिने निःशुल्क ‘स्क्रिनिङ’ अभियान शुरु गरेको छ ।
वीरेन्द्रनगर स्थित आयुर्वेद अस्पतालमा आज विहानैदेखि शुरु भएको एक महिने निःशुल्क ‘स्क्रिनिङ’ अभियानमा ३० वर्ष माथिका करिब एक सय बढी महिला तथा पुरुषले प्रत्यक्ष लाभ लिएका छन् ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नाराका साथ शुरु भएको एक महिने निःशुल्क ‘स्क्रिनिङ’ अभियानमा आयुर्वेद तथा योग प्रवद्र्धनसँगै नसर्ने रोगको पहिचान, रोकथाम एवं प्रभावकारी उपचार गरिने अस्पतालले जनाएको छ ।
अभियान अन्तर्गत कर्णाली प्रदेशका दश वटै जिल्ला स्थित आयुर्वेद औषधालय, आयुर्वेद स्वास्थ्य केन्द्र र नागरिक आरोग्य केन्द्रबाट निःशुल्क ‘स्क्रिनिङ’ सेवा प्रवाह भईरहेको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्दका निर्देशक डाक्टर शंकरप्रसाद रिजालले जानकारी दिए ।

उनले मधुमेह, उच्च रक्तचाप, मिर्गाैलासम्बन्धी रोग एवं शरीरको उचाइ र तौलको अनुपात पहिचान गरी नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्नु नै स्क्रिनिङ अभियानको मुख्य उद्देश्य रहेको बताए । उनका अनुसार निःशुल्क स्क्रिनिङ अभियानबाट कर्णालीमा ३० वर्षभन्दा माथिका करिब पाँच लाख नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ ।
‘नसर्ने रोगको रोकथाम, रोग लागेका व्यक्तिको समयमै पहिचान तथा प्रभावकारी उपचारका उपायहरु अबलम्वन गर्न फागुन महिनाभरी प्रदेशका सबै आयुर्वेद केन्द्रबाट निःशुल्क सेवा उपलब्ध गराईएको छ,’ उनले भने, ‘आयुर्वेद तथा योगका माध्यमबाट नागरिकलाई रोगको दुष्चक्रबाट जोगाउन सचेतनासँगै समुदायको सहयोगको पनि आवश्यकता हुने गरेको छ ।’
नागरिकको आधारभूत स्वास्थ्य परीक्षण गरी सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने र लागेको खण्डमा समयमै प्रभावकारी उपचार गरी नागरिकको स्वास्थ्यसँगै धनराशि जोगाउनु सरकारी लक्ष्य रहेको अस्पतालका सिनियर नर्सिङ अधिकृत कृष्णा खनालले बताईन् ।
उनका अनुसार प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले हरेक वर्ष नसर्ने रोग विरुद्ध निरोधात्मक अभियानलाई निःशुल्क सेवाका रुपमा निरन्तरता दिँदै आएको छ ।