३३ आयोजना अलपत्र

विकास निर्माण तोकिएकै समयमा सम्पन्न नहुँदा आम नागरिकमा नैराश्यता आउँछ । यो कुरा थाहा पाउँदा पाउँदैपनि विकास निर्माणमा हुने ढिलासुस्ती र लापरवाहीले कर्णाली जस्ता दुर्गम क्षेत्रका नागरिकले कति धेरै दुःख उठाउनु पर्छ होला सहजै अनुमान लगाउन सकिन्छ । अहिले निर्माण ठेकदार कम्पनीको लापरबाहीकै कारण कर्णाली प्रदेश सरकारका दर्जनौं बहुवर्षीय आयोजना अलपत्र परेका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ३३ ठूला आयोजनाको काम ठेकेदारहरुको लापरबाहीले अलपत्र परेका हुन् । मन्त्रालयका अनुसार सुर्खेतका सात, दैलेखका र जाजरकोटका पाँच/पाँच कालीकोट तथा मुगुका चार/चार आयोजना अलपत्र अवस्थामा छन् । यस्तै, सल्यान र रुकुम पश्चिमका दुई/दुई वटा बहुवर्षीय योजना ठेकेदारको लापरबाहीका कारण अलपत्र छन भने जुम्ला र डोल्पामा एक/एक आयोजना अलपत्र अवस्थामा छन् । यसरी काम अलपत्र पार्नेमा बहालवाला संघीय सांसदको निर्माण कम्पनीसमेत रहेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरका १३ वटा सडक निर्माणको जिम्मा पाएको ‘कान्छाराम कन्स्ट्रक्सन’ ले कामै नगरी अलपत्र अवस्थामा सडक निर्माणको काम छोडेको छ । यस्तै, ३० प्रतिशत मात्र भौतिक प्रगति भएको डोल्पाको दुनै सरस्वती मन्दिरदेखि तिब्लागाउँ थरगाउँ काँडातलीसम्मको दोस्रो ठेक्को काम श्रेया जुगल जेभीले अलपत्र पारेको छ ।

उता जाजरकोटको छेडा थलह सानाखोला जाँदे जुम्ला सडकको ३० किलोमिटर सडक निर्माणकोको काम अमर सिस्ने जेभीले अलपत्र पारेको छ । जाजरकोटकै छेडागाड नगरपालिकाको साल्मखोलामा पुल निर्माण कार्य नेपाल मेघा सिस्ने जेभीले अलपत्र पारेको छ । नेपाल मेगा सिस्ने जेभीलले बारेकोट गाउँपालिका–८ साँघुतरा र नलगाड नगरपालिका–५ सिर्केस्थित मोटरेबल पुल निर्माण कार्य समेत अलपत्र पारेको हो । जाजरकोटकै बारेकोट गाउँपालिकाको भैसेडीमा पक्की पुल निर्माण कार्य बाँकेको नारायनम् निर्माण सेवाले अलपत्र पारेको छ । सल्यानमा पक्की पुल निर्माण गर्ने भन्दै पिएस निर्माण सेवा नौवास्था–बाँकेले ठक्का हात पारेर होल्ड गरेको छ । उता कालीकोटको सेरी पान्तडी पदाघाट जुम्ला सडक (बहुवर्षीय योजनासमेत) निर्माणको ठेक्का खड्का कृष्ण सुपरस्टार जेभीले अलपत्र पारेको छ । वारातु सियाला रेगिंल सडक निर्माणका लागि मार्गादेवी निर्माण सेवाले २८ प्रतिशत मात्र काम गरेको छ । कालीकोटको पताला–९ को दाम्रीगाड पक्की पुल निर्माण गर्नका लागि गलवा/जगदम्बा/सुपरस्टार जेभीले काम होल्ड गरेको छ । यता जाजरकोटमा पक्की पुल निर्माण गर्न २०७७ असोज १३ गते हिराचन/कारभान/सुपरस्टार जेभीले ठेक्का लिएकामा हालसम्म उक्त ठेक्काको २५ प्रतिशत मात्र रहेको छ । उता दैलेख सदरमुकामदेखि नौमुले गाउँपालिका–१ देखि ४ हुँदै जुनी जाजरकोट जिल्ला जोड्ने सडकसमेत अलपत्र परेको छ । यसको ठेक्का बिरुवा सिद्धान्त शृङ्गेश्वर जेभीले लिएको थियो ।
साङ्गेतडा–ब्रिन्दासैनी–चामुण्डा बाटो निर्माण गर्ने भनी मोतिदान–लाल सुभ–मेन्द्रो जेभीले काम अलपत्र पार्दै आएको छ । कोप्ची कट्टी बेस्तडा रूम चौराठा देउली दैलेख सडकको काम वाइबा र लामा÷लोपूर्ण जेभीले अलपत्र पार्दै आएको पाइएको छ । सान्ताडा मेहलतोली पातिहाल्ना जाजरकोट सडकको काम समेत अलपत्र रहेको छ । रबट छामघाट खोला पक्की पुल निर्माणको काम जलजला जय मा स्वर्गद्वारी जेभीले लिएर अलपत्र पारेको छ । उता सुर्खेतमा बड्डीचौर बिउरेनी बाबियाचौर विद्यापुर सडक अनक÷जयदेवी जेभीले अलपत्र परेको छ । रानीघाट तेलपानी भुरीगाउँ सडक थोदुङ्ग÷जागृति जेभीले निर्माणमा समस्या बनाउँदै आएको छ । मङ्गलगढी काँक्रेविहार सडक योजना अमर/सिस्ने/मेघा जेभीले बीचमै अलपत्र पारेपछि उक्त कम्पनीलाई कालो सूचीमा राखेर अर्को कम्पनीलाई कामको जिम्मा दिइएको छ । कुइने जामु बाबियाचौर भक्तरी जगलघाट सडक अनक/जयदेवी/सनलाइट जेभीले लिएर अलपत्र पारेको छ । हुम्ला, मुगु, डोल्पा, सल्यान लगायतका जिल्लाका ठूला आयोजना पनि अलपत्र अवस्थामा छन् । तोकिएको समय भित्र काम नगर्ने ठेकेदार कम्पनी माथि कार्वाही नहुँदा आयोजनाको लागत, समय र सास्ती बढी उठाउनु परिरहेको छ । सम्बन्धित निकाय र प्रदेश सरकारले काम नगर्ने ठेकेदार कम्पनी माथि आवश्यक कानूनी कार्वाही प्रक्रिया अघि बढाउन अब ढिलाई गर्नु हुँदैन् ।