दैलेख पेट्रोलियम अन्वेषण

कर्णालीको समृद्धिसँग जोडिएको दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएको छ । ड्रिलिङ पश्चात त्यसबाट निस्किएको नमुना सकारात्मक (व्यवसायीक) बनेमा कर्णालीको मात्र होइन, देशकै कायाकल्प पल्टिनेछ । गत वैशाख २३ गतेदेखि सुरु गरिएको ड्रिलिङ कार्यबाट भेटिएको नमुना लिएर विज्ञ टोली चीन फर्किएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद्हरुका अनुसार चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमुना ‘स्याम्पल’ लिएर चीनको प्राविधिक टोली फर्किएको हो । विज्ञहरुले चार हजार एक सय तीन सय मिटर गहिराइसम्म खन्दा दुई÷दुई मिटरको फरकमा गहिराइबाट गिट्टी र बालुवाको नमुना संकलन गरिएको थियो । प्राप्त नमुनालाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक थप अध्ययनका लागि मालवाहक गाडीमा ढुवानी गरेर टोली चीन फर्किएको छ ।

पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको ड्रिलिङ कार्य सकिएपछि केसिङ र सिमेन्टको काम सकिएको हो । तीन महिनापछि उत्खननका लागि ग्यास भण्डारण र प्रशोधनको काम अगाडि बढाउन योजना छ । अध्ययनबाट खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनको आवश्यक काम अगाडि बढ्ने छ । दैलेखको शीरस्थान नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग नेपाल सरकारले सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता गरेको थियो । सुरुआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएपनि कोरोना महामारीका कारण सम्झौताअनुसार काम हुन सकेको थिएन । चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण गरिएको हो ।

अब पेट्रोल सम्भव नभए ग्यासको भण्डारण हुने अनुमान गरिएको छ । भैरवी गाउँपालिकाका विभिन्न स्थानमा यसअघिबाटै प्राकृतिक ग्यास पाइने ठाउँहरु छन् । यस्तो ग्यासबाट त्यहाँका कतिपय तीर्थस्थलमा ‘अखण्ड दीप’ पनि बाल्ने गरिएको थियो । पेट्रोलियम अन्वेषण परियोजनास्थलमा कार्यरत नेपाली विज्ञहरुका अनुसार प्रारम्भिक अन्वेषणबाट उक्त क्षेत्रमा तेलभन्दा प्राकृतिक ग्यास रहेको सङ्केतहरू भेटिएको बताएपछि सम्भावनाहरु बढेका छन् । अन्वेषणताका सतहमा भेटिएका ग्यासहरुले पनि त्यसको आधार देखाइसकेको छ । तर भण्डारको आयतन कति छ भन्ने नै यकिन हुन बाँकी छ । त्यो अध्ययन र परीक्षणको विस्तृत रिपोर्ट कुर्नु नै पर्नेछ । रिपोर्ट सकारात्मक आएमा दैलेखको मात्र नभई समग्र देशकै भविष्य उज्जवल हुने देखिन्छ ।

Translate »