कर्णालीको गरिवी र कुपोषण विरुद्ध मिलेर अघि बढ्छौं : मुख्यमन्त्री कँडेल

 सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कुपोषण विरुद्ध सामूहिकरुपले प्रदेश सरकार अघि बढिरहेको बताएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको स्तरोन्नती गरिएको चामल तथा स्थानीय स्तरमा खरिद र विक्री कक्ष सञ्चालन सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले गरिवी र कुपोषण विरुद्ध सरोकारवालाहरुसँग मिलेर प्रदेश सरकार अघि बढेको जानकारी दिएका हुन् ।

उनले अतिआवश्यक दैनिक उपभोग्यवस्तु आयात बाहेक आधुनिक तरिकाबाट स्थानीय साधनस्रोतको प्रयोग गरी गरिवीसँगै कुपोषण जस्ता समस्या समाधानका लागि प्रदेश सरकार जुटिरहेको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा खाद्य सुरक्षा तथा कुपोषण विरुद्ध उल्लेखनीय कार्य गरेको बताउँदै मुख्यमन्त्री कँडेलले अब स्थानीय स्तरमा उत्पादित वस्तु खरिद गरेर निर्यातमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले स्तरोन्नती गरिएको चामल (फोर्टिफाइड राइस) वितरण कार्यसँगै अब कर्णाली प्रदेशका ७९ वटै स्थानीय पालिका स्तरमा खरिद र विक्री कक्ष सञ्चालन गर्ने कम्पनीको योजना रहेको बताए ।

उनले प्रदेश सरकार र स्थानीय पालिकाको सहकार्यमा कर्णालीको खाद्य असुरक्षा र कुपोषणको समस्या अन्त्यका लागि कम्पनीले स्थानीय स्तरमा उत्पादित वस्तु खरिदसँगै दैनिक उपभोग्य वस्तु विक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको जनाए ।  उनका अनुसार खाद्य असुरक्षा र कुपोषणको समस्या अन्त्यका लागि हालसम्म ३१ वटा स्थानीय पालिकासँग सम्झौंता भईसकेको छ ।

कर्णालीका पाँच जिल्लाहरुमा पौष्टिक तत्व मिसाइएको चामल वितरण गर्दै आईरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब कर्णालीमा उत्पादन हुने विभिन्न कृषि तथा पशुजन्य वस्तु खरिद गरेर निर्यात गर्ने योजना अघि बढाएको छ । हाल कम्पनीले हुम्लादेखि सिमी, चिनो, कागुनो लगायतका वस्तु खरिद गरी काठमाडौंलगायतका स्थानमा विक्री वितरण गर्दै आएको जनाएको छ ।

कर्णाली प्रदेश हिमाली जिल्लाका २३ प्रतिशत घरधुरीमा अहिलेपनि खाद्य असुरक्षा छ । कर्णाली प्रदेश योजना आयोगको तथ्याङ्क अनुसार उत्पादन कम हुने कर्णाली प्रदेशका जिल्लाहरूमा वार्षिक १९ हजार ११६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको छ । खाद्यान्न अपुग हुने भएपछि कुपोषणका कारण ३६ प्रतिशत मानिसमा पुड्कोपनको समस्या छ । कुपोषणकै कारण उत्पन्न भएको ख्याउटेपनबाट ४ प्रतिशत बालबालिका प्रभावित छन् । ३६ प्रतिशत बालबालिकामा कम तौलको समस्या छ ।

Translate »