जमिनमाथि जन्मसिद्ध अधिकार बनाईनु पर्छ : महासचिव बास्तोला

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धमेन्द्र बास्तोलाले नेपालमा जन्मिने प्रत्यक नागरिकलाई जमिनमाथि जन्मसिद्ध अधिकार हुने कानूनी व्यवस्था बनाउन सुझाव दिएका छन् ।

उनले मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव बास्तोलाले जमिन माथि जन्मसिद्ध अधिकार हुने वित्तिकै नेपालबाट सदाका लागि सुकुम्बासी समस्या अन्त्य हुने बताएका हुन् ।

उनले जमिनमाथि जन्मसिद्ध अधिकारबाट नेपालमा हाल रहेको गरिव तथा धनी वीचको खाडलमा समेत समानता आउने दावी गरे । प्रधान न्यायाधीश सरकारबाट भन्दापनि जनताको मतले निर्वाचित जनउत्तरदायी हुने फैसलाधीश बनाउन सके मात्र न्यायपालिकाको स्वतन्त्रताको रक्षा हुने उनले बताए ।

‘प्रधानमन्त्री कार्यकारी भन्दा पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको विकास गर्न नसकेसम्म देशमा राजनीतिक अस्थिरता कायम रहन्छ,’ उनले भने, ‘हालको निर्वाचन प्रणाली संशोधन गरेपनि, संविधान संशोधन गरेपनि अपर्याप्त हुने हुँदा नयाँ संविधान नै बनाउन उपयुक्त हुन्छ ।’

उनले हालको संविधानले राजनीतिक दलहरुलाई अस्थिरता बनाउँदै भ्रष्टाचारलाई संस्थागत बनाउने प्रणाली विकास गरेकाले त्यसको ठाउँमा समाजवादी संविधान बनाउन उपयुक्त हुने सुझाव दिए ।

सरकारका मन्त्रीहरुको चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएकाहरु भन्दापनि विषय विज्ञहरुलाई बनाउनु पर्ने सुझाव दिँदै उनले समतामुलक समाज निर्माणका लागि आधुनिक समाजवादी व्यवस्था निर्माण गर्नुको अर्को विकल्प नरहेको बताए ।

उनका अनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीले भन्ने समाजवाद भन्दा आधुनिक समाजवाद परिस्कृत नयाँ हो ।

पूँजीवादी संविधानकै कारणले देशमा अराजकता उत्पन्न गरेको बताउँदै उनले हिन्दु गणतन्त्रको मागदेखि निरकुश राजतन्त्रको माग गर्ने समूहसँगै संसदवादी दलहरुले देशको सार्वभौमसत्ता व्यापारीको हातमा सुम्पेको जिकिर गरे ।

संसदलाई (व्याङकट हल) को संज्ञादिँदै उनले देशमा राजनीतिक अराजकता फैलाएर देशमा केही पनि छैन, यहाँ बसेर केही हुँदैन भनेर पानीलाई धमिलो बनाएर माछा मार्नेहरुले अस्थिरतालाई बढावा दिईरहेको बताए ।

राज्यको नियमनकारी निकाय र फितलो कानून व्यवस्थाका कारण देशमा मिटरव्याजी, भूःमाफियादेखि बैंकरहरुको हालिमुहालि बढिरहेको उनको भनाइ थियो । उनले आन्दोलनको बलबुताबाट मात्र नयाँ संविधान निर्माण गरी नयाँ व्यवस्था निर्माण गरे मात्र नेपाली जनताको मुक्ति सम्भव रहेको बताए ।

Translate »