राष्ट्रिय खेलकुदको मिति पर नसार्न कर्णालीका मुख्यमन्त्री कँडेलको आग्रह

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका छन् ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको आज काठमाडौंमा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले पटकपटक मिति सार्ने कामले प्रतियोगितालाई अन्योल बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न परिषद्लाई आग्रह गरेका हुन् ।

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २ देखि १० सम्म हुने तय भएको छ । पटकपटक मिति सरेपछि आजको बैठकमा मुख्यमन्त्री कँडेलले जेठभन्दा पर जान नसकिने बताए ।
‘अहिलेको प्रस्तावित मिति त्यति अनुकूल होइन तर त्योभन्दा पर जान सक्ने स्थिति छैन्,’ उनले भने । प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माण लगायतका कामलाई पहिलेदेखि नै तीव्र गतिमा अगाडि बढाइरहेको बताउँदै मुख्यमन्त्री कँडेलले प्रतियोगिता सफल पार्न प्रदेश सरकारले आफ्नो जिम्मेवारी पूरा जिकिर गरे ।