भारतको दिल्लीमा नेपाल महोत्सव हुँदै

काठमाडौं । भारतको दिल्लीमा नेपाल महोत्सव आयोजना हुने भएको छ । नेपाल र भारतबिच व्यवसाय, संस्कृति र खाना प्रवर्धन गर्न अप्रिल ११ बाट १३ सम्म महोत्सवको आयोजना हुन लागेको हो ।

भारतमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा एभरेस्ट चेम्बर अफ कमर्शले नेपाल महोत्सवको आयोजना गर्न लागेको हो ।

नेपाल महोत्सव व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र आध्यात्मिकता मार्फत भारत–नेपाल सम्बन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको एभरेस्ट चेम्बर अफ कमर्शका अध्यक्ष युवराज बरालले बताए ।

आयोजक ऐभरेस्ट चेम्बरमा महासचिव डा मोहन कार्कीले महोत्सवमा व्यावसायिक नेटवर्किङ सत्रहरू, सांस्कृतिक प्रस्तुतिहरू, हस्तकला प्रदर्शनीहरू र मौलिक नेपाली खानाहरूसहित नेपालको व्यापार, पर्यटन, संस्कृति र धार्मिक क्षेत्रसँगै खाना र हस्तकला भारतीय नागरिकमाझ प्रवर्धन गरिने जानकारी दिए ।

महोत्सव निर्देशक राजेन्द्र घिमिरेका अनुसार दिल्लीको बार्हखम्बा रोडमा रहेको नेपाली दूतावास परिसरमा आयोजना हुने कार्यक्रममा नेपाल–भारत व्यापार सम्बन्धी छलफल, बिटूबी र बिटुसी नेटवर्किङ बैठक, लगानी बिस्तार सम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, नेपाली खाना र अध्यात्म सत्र समावेश छ । घिमिरेका अनुसार यो हरेक वर्ष आयोजना हुन्छ ।

‘महोत्सवको आयोजना, नेपालको व्यापार, संस्कृति र खानाको विस्तारको योजना सहित आयोजना गरेका हौं,’ घिमिरेले भने, ‘महोत्सवमा नेपाल–भारत दुबैतिरको व्यवसायी सहभागी हुँदै छन् । महोत्सवले नेपाल प्रवर्धन गर्ने अपेक्षा गरेका छौं ।’

कार्यक्रम अवधिभर परम्परागत नेपाली नृत्य, सङ्गीत र सांस्कृतिक प्रस्तुति,खाना प्रेमीहरूका लागि मौलिक नेपाली खाना स्टल, बि२बि व्यापार र उद्योग प्रदर्शनी र व्यावसायिक नेटवर्किङ अवसर, द्विपक्षीय व्यापार र पर्यटन बढाउने, सांस्कृतिक कूटनीति र व्यापार सम्बन्धहरू, उदीयमान व्यावसायिक लगानी क्षेत्रहरू, दिगो पर्यटन र सांस्कृतिक सम्पदा, भारत९नेपाल आर्थिक सहयोगको भविष्यबारे प्यानल छलफल हुने घिमिरेले बताए ।

Translate »