पत्रकार हत्यासँगै सञ्चार माध्यम माथिको आक्रमण विरुद्ध सुर्खेतका पत्रकारद्वारा विरोध सभा

अनिता विक/सुर्खेत । काठमाडौंमा शुक्रबार अराजक अराजक तत्वहरुले पत्रकार हत्यासँगै सञ्चार माध्यम माथिको गरेको आक्रमण विरुद्ध सुर्खेतका पत्रकारले विरोध सभा गरेका छन् ।

पत्रकार र सञ्चार माध्यममाथि राजावादीले निशाना बनाएकोमा नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार सुर्खेत शाखाले शनिबार वीरेन्द्रनगरको पिपल चौतारामा शान्तिपूर्ण विरोध सभा आयोजना गरेको हो ।

महासंघको स्थापना दिवसको अवसरमा पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरी महासंघले देशभर विरोधका कार्यक्रम गर्ने निर्णय गरेलगत्तै सुर्खेत शाखाले विरोध सभा गरेको हो ।

राजावादी समूहले काठमाडौंमा आयोजना गरेको हिंसात्मक प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको रिपोर्टिङका क्रममा घरभित्रै आगजनी हुँदा घटनास्थलमै मृत्यु भएको थियो । रजकको शव जलेको अवस्थामा फेला परेको थियो ।

राजावादीहरुले अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन लगायत विभिन्न सञ्चार माध्यम र पत्रकारमाथि आक्रमणमा उत्रिएका थिए । यता आन्दोलनका नाममा प्रेस माथिको बर्बरता र रिपोर्टिङ गरिरहेका पत्रकार रजको हत्या घटनामा संलग्न दोषीउपर कडा कानूनी कार्वाही गर्न सुर्खेतका पत्रकारले सरकार समक्ष माग गरेका छन् ।

लोकतन्त्रमा प्रेस स्वतन्त्रता कुण्ठित गर्दे पत्रकार र सञ्चारमाध्यम माथि आक्रमण हुनु दुःखद विषय भएको भन्दै सुर्खेतका पत्रकारले घटनालाई अक्षम्य अपराधको संज्ञा दिएका छन् ।

 

Translate »