विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालक समितिको अध्यक्षमा खनाल

सुुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालक समितिको अध्यक्षमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल मनोनित भएका छन् ।
केन्द्रीय कृषि प्रयोगशाला हरिहर भवन ललितपुरले आज वीरेन्द्रनगरमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा विषादी अवशेष द्रुत विश्लेषण कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा ६, वमोजिम उपप्रमुख खनाललाई अध्यक्षमा मनोनित गरिएको हो ।
सञ्चालक समितिको सदस्यहरुमा कृषि विकास निर्देशनालयका कृषि अधिकृत प्रतिमा खड्का, वीरेन्द्रनगर नगरपालिका कृषि शाखा प्रमुख हेमराज केसी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत खाद्य अनुसन्धान अधिकृत दीक्षा श्रेष्ठ, बुलबुले कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष टोपेन्द्रजंग शाही, राष्ट्रिय कृषक महासंघ नेपाल कर्णाली प्रदेशका प्रतिनिधि सन्तबहादुर केसी, विषादी व्यवसायी संघ सुर्खेतका प्रतिनिधि गणेश रोकाय, राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश संयोजक आकाशतारा बयक एवं विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईका प्रतिनिधि धनसिंह धामी सदस्य सचिव रहेका छन् ।

उक्त समितिले प्रयोगशालाबाट सञ्चालित सेवाको अनुगमन र मूल्याङ्कन गर्ने, सरोकारवाला वीच समन्वय गर्ने, परीक्षण सेवा परिस्कृत गर्ने, जनशक्ति व्यवस्थापन गर्ने तथा निर्देशक समितिमा सुझाव पेश गर्ने उद्देश्यले समिति गठन गरिएको केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत महेश तिमिल्सिनाले जानकारी दिए ।
उनले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईलाई व्यवस्थित गर्न उपप्रमुख खनालको अध्यक्षतामा ११ ससदस्यीय सञ्चालन समिति गठन गरिएको बताए । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका प्रतिनिधि धनसिंह धामीले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईमा पर्याप्त स्रोतसाधनका वावजुत दैनिक कार्य सम्पादनमा समस्या भएपनि सीमित स्रोत साधनले उपलब्धिमुलक कार्य गर्दै आईरहेको बताए ।
उनले प्रयोगशालामा नेपालका विभिन्न जिल्लासँगै नेपालगञ्ज रुपैडिया भन्सार नाकाबाट आउने भारतीय फलफूल तथा तरकारी लगायत खाद्यवस्तुको नमुना संकलन हुने गरेको जानकारी दिए । फलफूल र तरकारी लगायत खाद्यवस्तुको कार्वामेट र अग्र्यानोफस्फेट नामक विषादी परीक्षण गरिने गरेको उनको भनाइ छ ।