सुर्खेत भित्रिने हरियो काँक्रामा विषादी भेट्टियो

सुर्खेत । बाँकेको कोहलपुरबाट सुर्खेत भित्रिने हरियो काँक्रामा विषादी प्रयोग गरेको पाईएको छ ।
कृषि थोक बजार वीरेन्द्रनगर स्थित केन्द्रिय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले आज विहान गरेको नमूना परीक्षणका क्रममा कोहलपुरबाट ल्याईएको हरियो काँक्रामा विषादी प्रयोग गरेको भेटिएको हो ।
काँक्रामा विषादीको मात्रा प्रयोग गरेको भेटिएपछि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले २ सय किलो काँक्रालाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा पठाएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईका नायक प्राविधिक सहायक धनसिंह धामी र केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत महेश तिमिल्सिनाले परीक्षणका क्रममा खानै नहुने अर्गानोफस्फेट समूहको विषादीको मात्र बढी भएको पाईएपछि काँक्रालाई क्वारेन्टाईनमा केही दिन राखेर पुर्नः चेकजाँच पछि निष्क्रिय भएपछि मात्र बेचविखन गर्न दिईने बताए ।
उनले नियमित तरकारी तथा फलफूल चेकजाँचका दौरान कोहलपुरबाट ल्याईएको काँक्राको नमूनामा यो पहिलो पटक अर्गानोफस्फेट समूहको विषादीको मात्र ३९ दशमलव ८५ प्रतिशत इन्जाईम रहेको पाईएको बताए । उनका अनुसार यसअघि पनि चितवन, जुम्ला र बाँकेबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा तोकिएकोभन्दा बढी पाईने गरेको छ ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले चालु आर्थिक वर्षको कार्तिक ४ गतेदेखि हालसम्म ११ सय वटा तरकारी तथा फलफूलको नमूना संकलन गर्दा सिमी, आलु, काँक्रामा कार्वामेट र अर्गानोफस्फेट समूहको विषादीको मात्र बढी रहेको पाइएको जनाएको छ ।