गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन : महासचिव पोखरेल

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमाले सुर्खेतले आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उनले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउने अपराधी भएको बताए ।

‘पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदै छ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौं, हामी लोकतन्त्रवादी हौं, यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्नसक्नु पर्दछ,’ उनले भने, ‘सामाजिक सञ्जालबाट भ्रमको खेती मात्र गरिएकाले त्यस भ्रमलाई चिर्नुपर्ने बेला आएको छ ।’

उनले जनआन्दोलनबाट फालिएको राजतन्त्र गणतन्त्रको विकल्प हुन नसक्ने स्पष्ट पारे । दलहरुप्रति केही गुनासा र असन्तुष्टि जति भएपनि यही व्यवस्थालाई बलियो बनाएर अघि बढ्न उनले आग्रह गरे ।

‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्, तर गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन, अढाइ सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो,’ उनले भने ।

नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिन सबैलाई आग्रह गर्दै उनले राजाको २५० वर्षे शासनकालमा देशभरी कुल ८ हजार किमि बाटो बनेकोमा अहिले १ लाख १० हजार किमि बाटो बन्नुमा गणतन्त्रको देन भएको दावी गरे ।

राजाको पालामा देशको कुल गार्हस्थ उत्पादन ४ खर्ब मात्रै रहेकोमा अहिले ५७ खर्ब पुगेको उल्लेख गर्दै महासचिव पोखरेलले राजाको शासनकालमा प्रतिव्यक्ति आय दुई सय अमेरिकी डलर रहेकोमा अहिले १४ सय पुगेको जानकारी दिए ।

महासचिव पोखरेलले अमेरिका, युरोपजस्ता देशमा लोकतन्त्र आएको २५० वर्ष भन्दा बढी भएको र नेपालमा भने राजनीतिक दल खोलिएको जम्मा ७५ वर्ष भएको बताउँदै नेपालमा अपेक्षाकृत विकास हुन नसके पनि विकास भइरहेको दाबी गरे । उनका अनुसार गणतन्त्रपछि कर्णालीको विकास जनताले देखिने गरी काम अघि बढेको छ ।

विगतभन्दा कर्णालीले पछिल्लो समय धेरै उपलब्धि प्राप्त गरेको बताउँदै महासचिव पोखरेलले भेरी–बबई डाईभर्सन बहुउद्देश्य आयोजना, भेरी करिडोर, कर्णाली करिडोर, दैलेख पेट्रोलियम उत्खनन् र एमालेकै नेतृत्वमा सुर्खेत विमानस्थल विस्तार कार्य समेत अघि बढ्ने जनाए ।

उनले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भएपनि केही भएन भनेर जनतामा निराशा र समाजमा अराजकता फैलाउनु गलत भएको बताए ।

Translate »