‘औद्योगिक सूचनाको कमी नै कर्णालीका घरेलु तथा साना उद्योगको विकासमा बाधक’

सुर्खेत । औद्योगिक सूचनाको कमीका कारण कर्णालीका घरेलु तथा साना उद्योगको विकास हुन नसकेको सुर्खेतका उद्यमीले बताएका छन् ।

घरेलु तथा साना उद्योग जिल्ला संघ सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको नव वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागि उद्यमीले सही तथ्यांकको अभावमा कुन क्षेत्र बलियो वा कमजोर, कहाँ कस्तो समस्या छ ? भन्ने थाहा नभएपछि समस्याको निराकरण गरेर अघि बढ्न नसकिएको बताएका हुन् ।

घरेलु तथा साना उद्योगका अनुभवि उद्यमी हरिशचन्द्र चलाउनेले औद्योगिक सूचनाको कमी नै कर्णालीका घरेलु तथा साना उद्योगको विकासको बाधक भएको बताए । ‘सूचना क्रान्तिको सहयोगले अहिलेको विश्व औद्योगिक, व्यापारिक तथा बजार सूचनाका हिसाबले धेरै अघि बढिसक्यो,’ उनले भने, ‘प्राप्त सूचनालाई पनि उत्पादनमा रुपान्तरण गर्ने शीप र उद्यमशीलतासम्बन्धी ज्ञानको कर्णालीमा कमी रहेको छ ।’

सरकारले केही मात्रामा प्रदान गर्दै आएको प्राविधिक सीप तथा ज्ञानसम्बन्धी तालिम पनि नयाँ प्रविधि तथा बजारअनुसार अद्यावधिक नभएको उनको भनाइ थियो । उनले औद्योगिक क्षेत्रको स्तरोन्नतिका लागि नवीन सोच, प्रविधि के के हुन सक्छन् ? भन्ने प्रदेश तथा स्थानीय सरकारको ध्यान त्यता जान नसकेको गुनसो गरे ।

‘दक्ष जनशक्ति उत्पादनमा सरकार पर्याप्त रुपमा सक्रिय छैन् । आजभन्दा ३० वर्षअघि बाँसका सामग्री निर्माणसम्बन्धी ३ः५ महीने तालीम लिएका व्यक्तिहरू सरकारी तालीम केन्द्रका प्रशिक्षक छन् । नयाँ समय र प्रविधिसँग अपडेट हुनै नसक्ने त्यस्ता प्रशिक्षकबाट आजको बजार सुहाउँदो जनशक्ति उत्पादन हुन सक्ला ? ती प्राविधिकको स्तरोन्नति गर्नेबारे अहिलेसम्म सोचिएको छैन,’ उनले भने, ‘अर्कोतिर, उद्योगीहरु आफ्नै हिसाबले अघि बढिरहेका छन् । उनीहरुसँग प्रविधिबारे अद्यावधिक हुने सूचनाको पहुँचमा कमी छ । विश्व बजारमा नयाँ प्रविधिहरू आइरहेका हुन्छन्, त्यसबारे हाम्रा उद्यमी बेखबर छन् ।’

उनले कर्णाली प्रदेश सरकारले प्रविधि हस्तान्तरणसम्बन्धी एउटा परियोजना नै सञ्चालन गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
‘हामीकहाँ कृषि, जडीबुटी, बहुमूल्य पत्थर, वन पैदावरलगायतसँग सम्बन्धित उद्योगको धेरै सम्भाव्यता छ,’ उनले भने, ‘कर्णालीमै उपलब्ध कच्चा पदार्थ त्यसै खेर गइरहेको छ । कानूनी अप्ठ्याराको कारण त्यसको उपयोग गर्न सकिएको छैन ।’

उनले विभिन्न निकायबीचको समन्वयको अभावमा बजारको माग अनुरुपको उद्योग स्थापना गर्ने र अधिक लाभ लिनेतर्फ सरकारको ध्यान जान नसकेको बताए । कार्यक्रममा उद्योग व्यापार महासंघ सुर्खेतका अध्यक्ष भानुभक्त खड्काले घरेलु तथा साना उद्योगको स्तरोन्नति गर्न सरकारले सुविधा तथा सहुलियत प्रदान गरेर माथि उकास्न जरुरी रहेको औल्याए ।

‘प्रदेश सरकारले नीतिगत तथा कानूनीरुपमा सम्बोधन गरी कार्यक्रमहरु लागू गर्नु जरुरी छ,’ उनले भने, ‘यस कार्यमा राजनीतिक दल तथा नीति निर्माताहरु स्पष्ट हुनु जरुरी छ ।’ घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगीले वित्तीय लगानीको हिसाबले घरेलु तथा साना उद्योग सरकारको प्राथमिकतामा पर्न नसकेको बताए ।

उनले प्रायः सबैजसो बैकले उद्यम सम्बन्धि कर्जा तथा ऋण प्रवाहबारे कार्यक्रम राखेपनि व्यवहारमा अति न्यून मात्र लागू भएको जनाए । सरकारले लगानीको वातावरण निर्माण गरिदिने हो भने आगामी वर्षमै निर्यात तथा अर्थतन्त्रमा घरेलु तथा साना उद्योगको योगदान बढाउन सकिने उनको भनाइ थियो ।

Translate »