अख्तियारद्वारा यातायात व्यवस्था कार्यालय बाँकेमा छापा

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, नेपालगन्जमा छापा मारेको छ । अख्तियारले यातायातका कर्मचारीले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक लाखौं रकम कलेक्सन गर्ने गरेको खुलेपछि छापा मारेको हो ।
यातायात व्यवस्था कार्यालय, नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित ४ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

विभिन्न उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई बुधबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई निजले प्रयोग गर्ने गरेका विद्युतीय उपकरणसहित बाँके जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
पछिल्लो समय अख्तियारको निगरानीको प्रभावले कार्यालयभित्र घुस निरुत्साहित भए पनि कार्यालय बाहिर लिने प्रवृत्ति सुरु भएको र कार्यालय बाहिर पनि अख्तियारले समात्न थालेपछि बिचौलियामार्फत घुसको प्रवृत्ति बढेको स्थानीयको भनाइ छ ।