पत्रकार थापामाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकारीलाई कार्वाही गर्न माग

सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले पत्रकार शेरबहादुर थापामाथि दुर्व्यवहार गर्ने प्रहरी अधिकारीलाई कार्वाही गर्न माग गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यालयमा कार्यरत (डीएसपी) दीपक मल्लले बुधबार बिहान समाचार संकलनका क्रममा पत्रकार थापामाथि दुर्व्यवहार गरेको प्रति आपत्ती जनाउँदै सत्यतथ्य छानविन गरी दोषीलाई कार्वाही गर्न माग गरेको हो ।
लोकान्तर डट्कमका कर्णाली प्रदेश सम्वाददाता शेरबहादुर थापामाथि अख्तियारको टोलीबाट भएको यस प्रकारको प्रेस स्वतन्त्रता विरोधी गतिविधिबारे सचेत गराउँदै घटनामा संलग्न प्रहरी अधिकारीमाथि कार्वाही गर्न महासंघले माग गरेको छ ।
आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेर कागजात नियन्त्रणमा लिँदा समाचार संकलनका लागि पुगेका पत्रकार थापामाथि डीएसपी मल्लले त्रास देखाउने, समाचार स्रोतको नाम बताउन धम्की दिने र मोबाइलबाट घटनासँग सम्बन्धित भिडियो तथा फोटो डिलिट गर्ने कार्यप्रति महासंघले आपत्ती जनाएको हो ।
‘अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको घटनाको समाचार सम्प्रेषणले कुनै उजुरीमाथिको अनुसन्धान प्रभावित हुने पनि होइन । अख्तियार आफैंले यस्ता विषयबारे तत्कालै प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने अवगत नै छ । तसर्थ, यो विषय अख्तियारको उजुरीसँगको गोपनीयताभित्र पर्दैन’, महासंघका सहसचिव नवीन सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरीका जिम्मेवार अधिकारीले कानूनले दिएको परिधिभित्र रही स्वतन्त्रतापूर्वक समाचार संकलन गरिरहेका पत्रकारमाथि गरेको हर्कतको महासंघ सुर्खेत शाखा घोर निन्दा गर्दछ ।’

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले बुधबार बिहान सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा हानेको थियो । अख्तियार स्रोतका अनुसार कार्यालयका लेखापाल खड्कबहादुर रानाले समितिको करोडौँ रूपैयाँ राजस्व हिनामिना गरेको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अख्तियारले नगदी रसिदसहित अन्य कागजात नियन्त्रणमा लिएको छ । यसैवीच प्रेस चौतारी नेपाल सुर्खेत शाखाले समेत रिपोर्टिङ्ग गरिरहेका प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शेरबहादुर थापामाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अख्तियारको कार्यालयबाट खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक मल्लबाट पत्रकार थापामाथि त्रास देखाउने, समाचार स्रोतको नाम बताउन धम्की दिने र मोबाइलबाट घटनासँग सम्बन्धित भिडियो तथा फोटो डिलिट गर्ने कार्य गलत भएको चौतारीले ठहर गरेको हो ।
‘नेपाल प्रहरी जस्तो निष्ठावान संगठनको अधिकारीबाटै यसरी प्रेस स्वतन्त्रता माथि हनन् हुनु दुःखद् हो । अख्तियारको टोलीबाट भएको यस प्रकारको प्रेस स्वतन्त्रता विरोधी गतिविधिबारे सचेत गराउँदै घटनामा संलग्न प्रहरी अधिकारीमाथि कार्वाहीको माग गर्दछ,’ प्रेस चौतारी सुर्खेतका सचिव रजनी योगीद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।
सचिव योगीले प्रेस स्वतन्त्रता हनन्को यस घटनालाई गम्भिरतापूर्वक लिंदै आवश्यक अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोग लगायतका सम्वद्ध निकायलाई अनुरोध गर्दै भय र त्रासमा होइन, भयरहित काम गर्ने वातावरण मिलाई दिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी छिन् ।