हावाहुरीले सुर्खेतमा विद्युत सेवा अवरुद्ध

अनिता विक/सुर्खेत । गएराति आएको हावाहुरीका कारण सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

हावाहुरीले कोहलपुरदेखि आउने ‎३३ केभिए र पश्चिम सुर्खेतको कुइने–बाबियाचौर–वीरेन्द्रनगर ३३ केभी लाइनमा समस्या देखिएपछि विद्युत वितरण प्रणाली अवरुण भएको हो । अवरुद्ध विद्युत वितरण तथा प्रसारण लाइनको पोलहरु र तारमा क्षति पुगेका कारण कर्णालीमा विद्युतसँगै धेरै ठाउँमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।

हावाहुरीका कारण कैयौं स्थानमा बिजुलीका पोलहरु ढलेको र दर्जनौं स्थानमा तारहरू चुँडिएका कारण प्रदेश राजधानी सुखेृत सहित कर्णालीका अधिकांस स्थानमा विद्युत सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।

‘नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख ईन्जिनियर अशोक लोहनीले भने, ‘बुधबार राति दश बजेको समयमा आएको भीषण हावाहुरीका कारण धेरै स्थानमा बिजुलीका पोल ढलेका छन्, दर्जनौं तार चुँडिएका छन् भने कतिपय ठाउँमा रुख ढल्नुका साथै रुखका हाँगाहरु भाँचिएर तारमाथि आउँदा समस्या उत्पन्न भएको छ र ३३ केभिए लाइनमा समस्या देखिएको हो ।’

उनले सुर्खेत भएर नै कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा विद्युत वितरण हुने भएकाले चार वटै सर्किटको लाइन बन्द हुँदा समस्या भएको जनाए । उनले भने, ‘३३ केभिए लाइनमा समस्या देखिएकोले मर्मत कार्यमा तीव्रता दिएर अब केही समयपछि सबै फिडर सुचारु गर्ने कार्यमा जुटेका छौं । हालसम्म दुई वटा फिडर सुचारु भईसकेका छन् । मेन लाईन समेत सुचारु भईसकेको छ । बजार क्षेत्रमा केहीमा रुखहरु ढलेकाले पन्छाउने काम भईरहेकाले केही ढिलाई भएको छ ।’

हावाहुरीका कारण गए राति देखि ४ वटै सर्किटबाट प्रसारण हुने लाइन बन्द हुँदा सुर्खेतसहित कर्णालीका विभिन्न जिल्लामा बत्ती नहुँदा समस्या देखिएको छ । यता बत्तीसँगै खानेपानी संस्थानले वितरण गर्ने खानेपानी नआउँदा स्थानीय थप समस्यामा परेका छन् ।

 

Translate »