२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

कर्णालीमा उद्यमी तयार गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय



सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले कर्णालीमा उद्यमी बनाउने अभियानलाई तीव्रता दिएको छ ।

कार्यालयले उद्यमशील बन्न चाहने व्यक्तिलाई हरेक वर्ष खाद्य प्रशोधन प्रविधि सम्बन्धि निःशुल्क तालिम दिएर उद्यमी बनाउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको हो । कार्यालयले उद्यमशील नागरिकलाई खाद्य प्रशोधन सम्बन्धि तीन दिने तालिम दिएर १५ जना उद्यमी तयार पारेको छ ।

शुक्रबार तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव अर्जुन गौतमले उद्यमशीलता समृद्ध समाजका लागि बलियो आधार भएको बताए ।

उनले कुनै पनि व्यक्तिले नयाँ उद्योगधन्दा, व्यापार व्यवसाय गरेर देशलाई समृद्ध बनाउन सक्ने भएकाले कटिबद्धताका साथ कडा परिश्रम, त्याग र निरन्तरता दिएर अघि बढ्न उद्यमीलाई आग्रह गरे ।

‘सीमित स्रोत, साधन र प्रविधिलाई बढी भन्दा बढी उपयोग गरी नयाँ कुराको थालनी गर्दा उच्च जोखिम मोल्नुपर्ने हुन्छ,’ उनले भने, ‘यसका लागि उद्यमीसँग अवसरलाई चिन्न सक्ने योग्यता हुन पर्दछ । अवसरको पहिचान र त्यसमा अघि बढ्ने आँटबाट नै उद्यमशीलता जन्मने हो । उद्यमशीलताकै कारण समाज आर्थिक रूपले अगाडि बढ्न सक्छ ।’

उनले प्रदेश सरकारले समेत उद्यमी तथा उद्योगको विकासका लागि विभिन्न कार्यक्रमहरु अघि बढाईरहेकाले त्यसको लाभ लिन सुझाव दिए । कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशका संयोजक आकाशतारा बयकले उद्यमशीलता कुनै पनि मुलुकको आर्थिक विकासको मेरुदण्ड तथा आधारशीला भएको बताए । उनले उद्यमशीलताको विकासले मुलुकको आर्थिक गतिविधिहरुलाई चलायमान बनाउनुका साथै जनतालाई (उद्यमी) मालिक बन्न प्रोत्साहित गर्ने गरेको जनाए ।

‘उद्यमशीलताले रोजगारी सिर्जना हुनुका साथै वस्तु तथा सेवाको उत्पादन र निर्यात गरी व्यापार घाटा कम गर्दै उपलब्ध स्रोत, साधन तथा कच्चा पदार्थको यथोचित प्रयोग गर्न प्रोत्साहन गर्छ,’ उनले भने, ‘अर्कोतर्फ यसले सम्पत्तिमाथि व्यक्तिको अधिकारलाई स्थापित गराउनुका साथै व्यक्तिको धन आर्जन गर्ने क्षमतामा वृद्धि गर्दछ ।’

उनले आर्थिक वृद्धिबाटै गरिबी निवारण, सामाजिक न्याय र जनताको जीवनस्तरमाथि उठ्नुका साथै समुदायको समेत विकास हुने गरेको जनाए । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख भेषबहादुर थापाले सीमित स्रोत साधनले अनुगमन, नियमन तथा उद्यमीलाई तालिम तथा प्रशिक्षण र उपभोक्तामा सचेतना फैलाएर नागरिकका अपेक्षाहरुमा खडा उत्रिने प्रयास जारी रहेको बताए ।

उनले जुन उद्देश्य र लक्ष्य लिएर उद्यमीलता तालिम लिएका उद्यमीलाई सिकेको सीप, ज्ञानलाई व्यहारमा प्रयोग गरि दिन आग्रह गरे । तीन दिने तालिममा मिक्स अचार, कुकुराको मासुको अचार, सोस, जामलगायत दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने सम्बन्धि विभिन्न विधिहरु प्रशिक्षार्थीहरुलाई सिकाईएको कार्यालयका सूचना अधिकारी दीक्षा श्रेष्ठले बताईन् ।

यता तालिमका सहभागि प्रशिक्षार्थी उद्यमीहरुले विभिन्न नयाँ प्रविधिको प्रयोगका बारेमा जानकारी लिन पाउँदा निकै खुशी भएको बताउँदै आफुले सिकेका ज्ञान, सीप आफुले मात्र नराखेर समुदायलाई समेत सहजीकरण गर्ने बताएका थिए ।

 

प्रकाशित मिति : २०८१ चैत ३० गते शनिबार
Translate »